काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्रीबालेन्द्र शाहले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने भएका छन् । राष्ट्रपतिरामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको हो ।

यसअघि बुधबार पनि प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको थियो । तर प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा अर्थमन्त्रीस्वर्णिम वाग्लेलाई पठाउने तयारी भएपछि प्रतिपक्षी दलका सांसदहरूले सदन अवरुद्ध गरेका थिए । विपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्दै लगातार अवरोध गरेपछि तीन पटकसम्म बसेको बैठक निष्कर्षविहीन बनेको थियो ।

प्रधानमन्त्री बैठकमा उपस्थित नभएको विषयलाई लिएर सरकारको आलोचना समेत भएको थियो । त्यसपछि आज बिहान ११ बजेका लागि पुनः बैठक बोलाइएको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने उल्लेख गरिएको छ ।

आजको बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

त्यसैगरी, प्रतिनिधि सभाका सदस्यगणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ सदनमा पेश गर्ने कार्यक्रम तय गरिएको छ ।