
काठमाडौं ।स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमीन र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ । मन्त्रालयले परिपत्र जारी गर्दै अतिक्रमण भएका जग्गाको विवरणसमेत माग गरेको हो ।
मन्त्रालयले ठूला अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूको नाम नै उल्लेख गर्दै जारी गरेको परिपत्रमा आफ्नो जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार भए–नभएको यकिन गर्न र कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए–नभएको विस्तृत विवरण तयार गर्न निर्देशन दिएको छ ।
परिपत्रअनुसार अस्पतालको जग्गा अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्नुपर्नेछ । सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरेर अतिक्रमण हटाई अस्पतालको भोगाधिकार पुनः कायम गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
भविष्यमा पुनः अतिक्रमण हुन नदिन खाली वा अतिक्रमणमुक्त गरिएको जग्गामा कम्पाउण्ड वाल निर्माण गर्न तथा आवश्यक सुरक्षा उपाय अपनाउन पनि मन्त्रालयले भनेको छ । साथै, जग्गासम्बन्धी लालपुर्जा र स्रेस्ता अद्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न अस्पतालहरूलाई निर्देशन दिइएको छ ।
परिपत्रमावीर अस्पताल,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका संस्थाको नाम उल्लेख गरिएको छ ।
त्यसैगरीराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान,नारायणी अस्पताल,भक्तपुर क्यान्सर अस्पताल,सुशील कोइराला प्रखर क्यान्सर अस्पताल,भरतपुर अस्पताललगायतलाई पनि जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि निर्देशन दिइएको छ ।
यस्तैबीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,मानसिक अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,कान्ति बाल अस्पताल,राष्ट्रिय ट्रमा सेन्टर,कोशी अस्पतालरभेरी अस्पताललाई पनि परिपत्रमार्फत आवश्यक कदम चाल्न भनिएको छ ।
अस्पतालहरूको सम्पत्ति संरक्षण गर्दै सार्वजनिक स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले यस्तो अभियान अघि बढाएको जनाएको छ ।






Facebook Comments