काठमाडौं । देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोजल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ । गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् । कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान, साथै सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्र र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने चेतावनी दिइएको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली कायम रहने अनुमान गरिएको छ । कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

त्यसैगरी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा रातिको समयमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

मनसुन २०२६ : बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने प्रक्षेपण

 यस वर्षको मनसुनका कारण देशभर दुई लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसंख्या मनसुनजन्य विपद्बाट प्रभावित हुने आकलन गरिएको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट हालै पारित कार्ययोजनामा यस वर्षको मनसुन सन् २०१४, २०१६ र २०२२ को मनसुनसँग मिल्दोजुल्दो हुने उल्लेख गरिएको छ । कार्ययोजनाअनुसार बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढीजस्ता विपद्को जोखिम उच्च रहने देखिएको छ ।

प्राधिकरणकी प्रवक्ताशान्ति महतले तीमध्ये एक हजारदेखि चार हजार घरपरिवार प्रत्यक्ष रूपमा गम्भीर प्रभावित हुनसक्ने बताइन् । उनका अनुसार प्रदेश र स्थानीय तहलाई पूर्वतयारीमा सहजीकरण गर्न प्रदेशगत जोखिम विश्लेषणका आधारमा कार्ययोजना बनाइएको हो ।

कार्ययोजनामा यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि हुनसक्ने उल्लेख छ । तापक्रम बढेसँगै उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिइएको छ ।

त्यसैगरी, अत्यधिक गर्मी तथा तातो हावाको लहर (लु) का कारण विशेषगरी तराई क्षेत्रमा जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले यसअघि सार्वजनिक गरेको मनसुन पूर्वानुमानअनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेशका पश्चिमी क्षेत्र तथा कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

प्राधिकरणले सोही पूर्वानुमानका आधारमा मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्धार तयारीलाई प्रभावकारी बनाउन राष्ट्रिय कार्ययोजना लागू गरेको जनाएको छ ।