काठमाडौै । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानअनुसार नचल्नेहरूलाई कारबाही गरिने चेतावनी दिएका छन् । शनिबार बिहान नेटता डा. शेखर कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले क्रियाशील सदस्यता नवीकरणमा कुनै समस्या नरहेको दाबी गरे । सदस्यता अद्यावधिक प्रक्रियामा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट हटाइने उनले स्पष्ट पारे ।

उनले पार्टीको क्रियाशील सदस्यताको तथ्याङ्क केन्द्रमा रहनु आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवार चयनदेखि सूचना प्रवाहसम्म सदस्यको अधिकार बलियो बनाउन यसले भूमिका खेल्ने बताए । कसैले जानाजानी अवरोध सिर्जना गरे विधानअनुसार जिम्मेवारी हेरफेर गरिने उनको भनाइ थियो ।

सभापति थापाले पार्टीभित्रका सबै संयन्त्रहरू सहमति र परामर्शका आधारमा गठन गर्न आफू तयार रहेको पनि बताए । सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति तथा निर्वाचन समिति गठनमा सबै नेताहरूको सुझाव समेट्न सकिने उनको भनाइ थियो । उनले पार्टीभित्र सबै पक्षलाई समेट्ने वातावरण बनाइसकेपछि असन्तुष्टिको खास कारण नरहेको जिकिर गरे ।

यसैबीच कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न थालेको छ । विशेष महाधिवेशनमा सहभागी नभएका समूहका केही वडा सभापतिले अद्यावधिकको काम नगरेपछि पार्टीले वैकल्पिक जिम्मेवारी बाँड्न थालेको हो ।

देशव्यापी ‘जरा अभियान’ सञ्चालन गरिरहेको कांग्रेसले हालसम्म करिब ५० जना वडा सभापतिलाई अद्यावधिक सम्बन्धी जिम्मेवारीबाट हटाएर वडा कार्यसमितिकै अन्य सदस्यलाई जिम्मेवारी दिएको जनाएको छ । सभापति थापाले सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलामा आफूले यस्तो निर्णय गरिसकेको बताएका थिए ।

उनले वडा सभापतिहरूको पद भने यथावत रहने स्पष्ट पारे । क्रियाशील सदस्यता अद्यावधिकको जिम्मेवारी मात्र अर्को व्यक्तिलाई दिइएको उनको भनाइ थियो । पार्टी विधानले यस्तो अधिकार दिएको उल्लेख गर्दै उनले पार्टीको निर्णय कार्यान्वयन नगर्नेहरूलाई विकल्प खोज्नुपर्ने अवस्था आएको बताए ।

सभापति थापाले सदस्यता “अद्यावधिक” भन्ने शब्द चयन उपयुक्त नभएको स्वीकार पनि गरे । यसलाई “नवीकरण” भन्नु उचित हुने उनको धारणा थियो । उनले १५ औं महाधिवेशनका लागि सबै नेता–कार्यकर्ताले नयाँ सदस्यता नवीकरण गर्नुपर्ने बताए । २०८२ सालमा गरिएको नवीकरण आगामी महाधिवेशनका लागि मान्य नहुने भन्दै प्रत्येक वर्ष सदस्यता नवीकरण आवश्यक रहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा उनले राष्ट्रिय मान अधिकार आयोगको प्रतिवेदन जानीजानी सार्वजनिक नगरिएको आरोप लगाए । प्रतिवेदन सच्याउन आयोगमाथि दबाब परेको दाबी गर्दै उनले तत्काल सार्वजनिक गर्न माग गरे ।