कास्की । पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा रहेका पसल, कबल तथा अन्य संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।

समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गको दक्षिणतर्फ, विमानस्थलको उत्तरतर्फ र सेती नदी आसपासको क्षेत्रमा निर्माण गरिएका संरचना हटाएर आधुनिक बसपार्क निर्माण प्रक्रिया अघि बढाउन व्यवसायी तथा स्थानीयलाई आग्रह गरेको हो ।

शनिबार जारी सूचनामा तोकिएको अवधिभित्र संरचना नहटाए समिति आफैंले हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी, बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीलाई सात दिनभित्र आवश्यक कागजात समितिमा बुझाउन निर्देशन दिइएको छ । नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जा, चालु आर्थिक वर्षको कर तिरेको रसिद तथा जग्गासम्बन्धी अन्य प्रमाण पेश गर्न भनिएको छ ।

यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिकाले पनि ३५ दिने सूचना जारी गर्दै बसपार्क क्षेत्रभित्रका अतिक्रमित संरचना हटाउन आग्रह गरेको थियो । उक्त अवधि सकिएपछि नगर विकास समितिले पुनः अर्को सूचना जारी गरेको हो ।

पृथ्वीचोकस्थित बसपार्कका लागि विसं २०३१–३२ तिर करिब २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर, समयसँगै अतिक्रमण बढ्दै जाँदा हाल करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी रहेको बताइएको छ ।

महानगरपालिकाका अनुसार बसपार्क क्षेत्रको जग्गामा भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका नाममा करिब ५०० परिवारले घरटहरा बनाएर बसोबास गर्दै आएका छन् । महानगरले वास्तविक सुकुमवासीको उचित व्यवस्थापन गर्दै अतिक्रमित जग्गा खाली गराएर आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ ।