काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशसुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा बहस वा फैसला गरेको दिन सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट टाढा रहन न्यायाधीश तथा कानुन व्यवसायीलाई आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सार्वजनिक सरोकारका मुद्दामाथि आउने तत्कालीन प्रतिक्रिया, प्रशंसा र आलोचनाले न्यायाधीश तथा वकिलहरूको मनोविज्ञानमा असर पार्न सक्ने बताए।
उनका अनुसार कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रतिक्रियाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा अत्यधिक नकारात्मक सोच विकास गराउन सक्छ।
उनले भने, “जुन सार्वजनिक चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायाधीशहरूले फैसला गर्छौं, त्यो दिन बेलुकाको सामाजिक सञ्जाल नहेर्ने। राम्रो प्रतिक्रिया आयो भने ‘म त धेरै ठूलो रहेछु’ भन्ने सोच आउन सक्छ, आलोचना वा गाली आयो भने ‘म त राक्षस रहेछु’ भन्ने भावना पनि विकास हुन सक्छ।”
न्यायाधीश पोखरेलले तत्कालीन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरूले कम्तीमा त्यो दिन फेसबुक, ट्वीटर (एक्स) तथा अनलाइन मिडियाबाट टाढा रहन उपयुक्त हुने धारणा राखे।
उनले थपे, “त्यो दिन बेलुकाको अनलाइन मिडिया र सामाजिक सञ्जाल नहेर्ने हो भने भोलिपल्टसम्म भाष्य नै बदलिएको हुन्छ। त्यसैले सार्वजनिक चासोका मुद्दामा बहस, पैरवी वा फैसला गर्ने दिन केही पनि नहेर्नु भन्ने मेरो विनम्र आग्रह हो।”




Facebook Comments