काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ । काठमाडौं जिल्ला अदालतबाट चैत २४ गते जारी भएको पक्राउ पुर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।  

यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।  सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेकाले पक्राउ रोक्नका लागि अन्तरिम आदेशको माग गरिए पनि सर्वोच्चले तत्काल त्यस्तो आदेश दिन भने अस्वीकार गरेर दुवै पक्षको बहस सुनेर मात्र निर्णय गर्न उपयुक्त हुने भनेको थियो । देउवाका तर्फबाट जेठ १ गते सर्वोच्चमा रिट दायर भएको थियो । 

काठमाडौँ जिल्ला अदालतसँग क्षेत्राधिकार नै नभए पनि पूर्जी जारी भएको रिटमा उल्लेख गरिएको थियो । देउवाले अनुसन्धानमा सहयोग गर्न मञ्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् । देउवा दम्पती पछिल्लो समय हङकङ गएका थिए । उनी त्यहाँबाट काठमाडौँ फर्किएका छैनन् । उनी विरूद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको थियो । तर इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छैन ।। ००