काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले उनीसँग बयान लिएको छ । समितिले मंगलबार र बुधबार गरी दुई दिनसम्म गुरुङसँग बयान लिएको हो । समिति स्रोतका अनुसार आवश्यक परे पुनः बयानका लागि बोलाउन सकिने अवस्था भने कायम नै छ ।

समितिले बयानअघि गुरुङमाथि लागेका आरोपबारे विभिन्न निकाय तथा सम्बन्धित क्षेत्रसँग जानकारी संकलन गर्नुका साथै उनको सम्पत्ति विवरणसमेत अध्ययन गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन् ।

समिति स्रोतका अनुसार गुरुङसँग बयान लिइसकिएकाले छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अहिले प्रतिवेदन लेखनको काम भइरहेको र केही दिनभित्र सरकारलाई बुझाउने तयारी रहेको बताइएको छ । समितिलाई दिइएको १५ दिनको समयसीमा सकिन लागेकाले प्रतिवेदनलाई अन्तिम रूप दिन तीव्रता दिइएको छ ।

यसअघि समितिका संयोजक भण्डारीले प्रमाणका आधारमा दोषी वा निर्दोष स्पष्ट किटान गरेर प्रतिवेदन बुझाइने बताएका थिए ।

व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा १९ चैतमा काठमाडौंबाट पक्राउ परेपछि गुरुङ विवादमा तानिएका थिए । हिरासतमा रहेका भट्टसँग गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठेको थियो ।

त्यसपछि सम्पत्ति विवरणमा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर रहेको लगायत विषय बाहिरिएपछि गुरुङले ९ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । राजीनामा दिँदै उनले आफूमाथि उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको तथा निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए ।

गुरुङले राजीनामा दिएको करिब २० दिनपछि सरकारले ३१ वैशाखमा छानबिन समिति गठन गरेको थियो । राजीनामायता गृहमन्त्रालय प्रधानमन्त्रीकै मातहतमा सञ्चालन हुँदै आएको छ । समितिले गुरुङलाई निर्दोष ठहर गरे पुनः गृहमन्त्री बन्न सक्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ ।