काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थाका साथ मनाइएको छ । पर्वका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूले रमजानपछि करिब ७० दिनमा मनाइने बकर इदलाई विशेष धार्मिक महत्वका साथ मनाउने गर्छन् । इस्लामिक पात्रोअनुसार दिल हिज्जा महिनाको १०औँ दिन यो पर्व पर्ने गर्दछ । पर्वका अवसरमा मुस्लिम समुदायका मानिसहरू बिहानै स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका थिए । नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ ।

बकर इदको अवसरमा मक्का–मदिना पुगेर हज गर्नुलाई शुभ मानिने भए पनि विभिन्न कारणले विदेश जान नपाएका धेरै श्रद्धालुले स्वदेशमै पर्व मनाएका छन् ।

यस पर्वमा अल्लाहप्रति आस्था, समर्पण र त्यागको प्रतीकस्वरूप धर्मले स्वीकार गरेका जनावरको कुर्बानी (बलि) दिने चलन छ । धार्मिक मान्यताअनुसार अल्लाहका नबी इब्राहिमले आफ्ना प्रिय पुत्रलाई कुर्बानी दिन तयार भएको घटनाको स्मरणमा यो परम्परा कायम रहेको विश्वास गरिन्छ । अल्लाहले उनको निष्ठा र विश्वासबाट प्रसन्न हुँदै मानवको सट्टा दुम्बाको कुर्बानी स्वीकार गरेको धार्मिक कथन छ ।

कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने चलन रहेको छ । एक भाग गरिब तथा विपन्नलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने धार्मिक परम्परा रहेको मुस्लिम समुदायले जनाएको छ ।

पर्वलाई मर्यादित र सुरक्षित रूपमा मनाउन मस्जिद, इदगाह तथा अन्य धार्मिकस्थलमा आवश्यक सतर्कता अपनाइएको थियो ।

इस्लाम धर्मावलम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाललगायत विश्वभरिका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् ।
कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकरइदमा मुस्लिम समुदायका लागि हज र कुर्वानी अनिवार्य मानिन्छ । इस्लामको पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।
इस्लामी क्यालेण्डर अनुसार १४३५ हिजरी (साल) को अन्तिम महिना जिलहिजा १० तारिखका दिन यो पर्व विश्वभरि मनाउने चलन छ ।