काठमाडौं । १९ औँ गणतन्त्र दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा गणतन्त्र दिवस २०८३ मूल समारोह समितिले शुक्रबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८३ लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । 

त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत समेत गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गर्नुका साथै सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरेका थिए ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुखलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारीको उपस्थीति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका छन् । पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताए ।


राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्दै उनले राजनीतिक दल र नेतृत्वलाई अझ बढी सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्न आह्वान समेत गरे । राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने धारणा राखे ।

मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको चर्चा गर्दै राष्ट्रपति पौडेलले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई मूल मार्गदर्शनका रूपमा अगाडि बढाएको भन्दै खुशी व्यक्त गरे ।

शासकीय सुधारका १०० कार्यसूचीको पूर्ण कार्यान्वयन तथा सीमाविहीन अर्थतन्त्र र तौलविहीन व्यापारका लागि गरिएका कानूनी एवं संरचनागत सुधारले जनतामा नयाँ आशा जागृत गर्ने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘आज नागरिकले सुशासन सहितको समृद्धि खोजेका छन् । यसका लागि हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ । अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जा लगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ । अनि मात्र आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ । यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो । यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ ।’

गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिको स्वामित्व प्रदान गरेको बताउँदै उनले यसलाई राष्ट्र निर्माणको महान् प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिए ।

हरेक वर्ष प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक राष्ट्रपतिले सम्बोधन गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह कार्यक्रममा उपस्थित भए पनि सम्बोधन नगरेका हुन् ।

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकअघिदेखि गणतन्त्र दिवस मनाउदै आइएको छ । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।