धनगढी । अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा घाइते भएका दुई जनाको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका निवासी ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारु रहेका छन्। उनीहरूको शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित दुई जनाको अवस्था गम्भीर रहेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय चालक राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाहको सुर्खेतमै उपचार भइरहेको छ।

त्यसैगरी, स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुनकुमार पौडेल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।