
हेटौंडा । वाग्मती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म १ हजार ६५८ सवारी दुर्घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय वाग्मतीका अनुसार काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामा भएका यी दुर्घटनामा २८१ जनाको मृत्यु भएको छ भने ३ हजार २९६ जना घाइते भएका छन्।
गत आर्थिक वर्ष २०८१/०८२ मा सोही अवधिमा २ हजार ४२२ सवारी दुर्घटना हुँदा ३०४ जनाले ज्यान गुमाएका थिए। त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५३६ दुर्घटनामा ३१५ जनाको मृत्यु भएको तथ्यांक छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दुर्घटनाको संख्या ८३६ ले बढे पनि मृतक संख्या ११ ले घटेको थियो।
चितवनमा सबैभन्दा बढी मृत्यु
प्रदेश प्रहरीको तथ्यांकअनुसार चितवनमा सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेका छन्। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चितवनमा ४८४ दुर्घटना हुँदा ८९ जनाको मृत्यु भएको छ। यहाँ ८७ जना गम्भीर र ८०९ जना सामान्य घाइते भएका छन्। गत आर्थिक वर्षमा चितवनमा मात्रै १२० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए।
मकवानपुरमा ३३२ दुर्घटनामा ५३ जनाको मृत्यु भएको छ। यहाँ ८५ जना गम्भीर र ६२४ जना सामान्य घाइते भएका छन्। गत आर्थिक वर्षमा मकवानपुरमा ४०७ दुर्घटनामा ५० जनाको मृत्यु भएको थियो।
अन्य जिल्लाको अवस्था
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म:
- सिन्धुलीमा १२२ दुर्घटनामा २२ जनाको मृत्यु
- रामेछापमा ३९ दुर्घटनामा २४ जनाको मृत्यु
- दोलखामा ४७ दुर्घटनामा १० जनाको मृत्यु
- काभ्रेपलाञ्चोकमा १२८ दुर्घटनामा १६ जनाको मृत्यु
- सिन्धुपाल्चोकमा ११६ दुर्घटनामा १८ जनाको मृत्यु
- नुवाकोटमा ९८ दुर्घटनामा ८ जनाको मृत्यु
- धादिङमा २०५ दुर्घटनामा ३८ जनाको मृत्यु
- रसुवामा ८७ दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
रसुवा प्रदेशकै सबैभन्दा कम मृत्युदर भएको जिल्ला बनेको छ। गत आर्थिक वर्षमा पनि यहाँ चार जनाको मात्र मृत्यु भएको थियो।
दुईपाङ्ग्रे सवारी बढी दुर्घटनामा
प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा पर्ने सवारीमध्ये दुईपाङ्ग्रे सवारीको संख्या सबैभन्दा बढी छ। गत आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये १ हजार ९७२ र चालु आर्थिक वर्षमा १ हजार ३५० वटा दुईपाङ्ग्रे सवारी रहेका छन्। तीमध्ये अधिकांश मोटरसाइकल छन्।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुर्घटनामा परेका अन्य सवारीमा २३५ ट्रक/ट्यांकर, ७६ टिपर, १५७ बस, ६२ माइक्रोबस, ३५२ जिप/कार, ४१ ट्र्याक्टर, ९३ टेम्पो तथा २१ अन्य सवारी रहेका छन्।
पुरुष बढी प्रभावित
प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकअनुसार सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुषको संख्या महिलाभन्दा उल्लेख्य रूपमा बढी छ।
गत आर्थिक वर्षमा मृत्यु भएका ३०४ जनामध्ये २३५ पुरुष, ४९ महिला, ९ बालक र ११ बालिका थिए। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मृत्यु भएका २८१ जनामध्ये २११ पुरुष, ६० महिला, ८ बालक र २ बालिका रहेका छन्।
तथ्यांकले वाग्मती प्रदेशमा सवारी दुर्घटना अझै पनि गम्भीर चुनौतीका रूपमा रहेको देखाएको छ, विशेषगरी दुईपाङ्ग्रे सवारी साधन र पुरुष चालक तथा यात्रु बढी जोखिममा रहेको पाइएको छ।




Facebook Comments