काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने भएको छ। पार्टी संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने, निर्वाचन तयारीलाई व्यवस्थित गर्ने तथा नेताहरूलाई भूगोलमा केन्द्रित गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको एमालेले जनाएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)–२ मार्फत अभियानको औपचारिक घोषणा गरेका हुन्। जेठ ४ गतेदेखि सुरु भई ८, ९ र १० गते सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णय कार्यान्वयनका लागि मातहतका कमिटीमा पठाउँदै पार्टीले अभियानको विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो।

अभियानअन्तर्गत केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी दिइएको छ। पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागीय जिम्मेवारीसँगै आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ।

एमालेका एक सचिवका अनुसार जिल्ला इन्चार्ज तोकिएका नेताहरूलाई समेत पालिका केन्द्रित अभियानमा सहभागी गराइएको छ। “एक जना केन्द्रीय सदस्यलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिँदै जागरण अभियानमा केन्द्रित हुन भनिएको छ,” उनले बताए।

केन्द्रीय सदस्य मात्र पर्याप्त नहुने निष्कर्षसहित केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत अभियानमा परिचालन गर्ने निर्णय गरिएको छ। पार्टी नेतृत्वको विश्वास छ कि निर्वाचनपछि केही स्थानमा सुस्त बनेका संगठन र कमिटीहरूलाई पुनः सक्रिय बनाउन यो अभियान प्रभावकारी हुनेछ।

एमालेले गरेको नयाँ कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र अभियान तथा पार्टी गतिविधिको नेतृत्व गर्नेछन् भने महासचिवले संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभाग तथा फाँटको समन्वयको जिम्मेवारी दिइएको छ।

पार्टीका नौ सचिवमध्ये छ जनालाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ। सचिव छविलाल विश्वकर्मा लुम्बिनी, खगराज अधिकारी गण्डकी, यमलाल कँडेल कर्णाली, शेरधन राई कोशी, राजन भट्टराई राजधानी विशेष प्रदेश तथा महेश बस्नेत बागमती प्रदेश इन्चार्ज नियुक्त भएका छन्।

त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री तथा पार्टी सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला विभाग प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

यसैगरी, पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्यलाई जिम्मेवारी दिइएको छ भने प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई तोकिएको छ।

एमालेले जागरण अभियानमार्फत तल्लो तहसम्म संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार तथा आगामी निर्वाचनको तयारीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।