ललितपुर । पुरुषहरुलाई ब्ल्याकमेल गरेर ठगी धन्दाको साम्राज्य फैल्याएकी तुलसा अधिकारी पक्राउ परेकी छिन् । नेपालका दाजुभाइ ठगेर थाइल्याण्डमा मोजमस्ती गरेर बसेकी तुलसालाई प्रहरीले थाइल्याण्डबाटै पक्राउ गरेको हो । उनलाई शनिवार राति थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको हो । तुलसाविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भैसकेको छ । तुलसालाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइने छ । 

ठगेरै करोडपति बनेकी तुलसाविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् । तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप लगाएका छन् । ब्ल्याकमेलिङ गरेर अधिकारीले आफूसँग ४ करोड ५० लाख बराबरको नगद र जिन्सी लिएको व्यवसायीले दाबी गरेका छन् । तुलसाविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो । अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए । 

तुलसाविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो । अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको हो ।