काठमाडौं । नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध गरेपछि सोमबार प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ ।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गर्न आग्रह गरे पनि अवरोध कायमै रह्यो र बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

नेपाली कांग्रेसका सचेतक निस्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको प्रतिष्ठामा असर परेको भन्दै नेपालले भारतको जग्गा मिचेको भन्ने भनाइप्रति आपत्ति जनाए । उनले यस विषयमा स्पष्ट हिसाब दिन सरकारसँग माग गरे ।

नेकपा एमालेका सचेतक ऐन महरले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे । उनले सीमा जस्तो संवेदनशील विषयमा गलत अभिव्यक्ति दिन नहुने बताए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको भनाइले आशंका उत्पन्न गरेको भन्दै आपत्ति जनाए । उनले सीमा विवादजस्तो विषयमा सरकार स्पष्ट हुनुपर्ने धारणा राखे ।

अन्य दलका सांसदहरूले पनि प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने बताएका छन् ।

विपक्षीको विरोधपछि बैठक सञ्चालन हुन नसकेपछि प्रतिनिधि सभा १५ मिनेटका लागि स्थगित गरिएको छ ।