
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयरराजेशमान सिंहमंगलबार बिहान पर्साको ठोरीस्थित रिसोर्टबाट पक्राउ परेका छन्। नागरिकतासम्बन्धी लिखत कसुरमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले विशेष टोली परिचालन गरेर नियन्त्रणमा लिएको हो।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार ठोरी गाउँपालिका–३ स्थित रिसोर्टबाट पक्राउ परेका सिंहमाथि जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान अघि बढाउनेछ। पर्सा जिल्ला अदालतले १२ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन बनेका सिंह एकपटक अदालतमा उपस्थित भए पनि त्यसपछि पुनः फरार भएका थिए। प्रहरीका अनुसार अदालतमा उपस्थित भएको जानकारी प्रहरीलाई नदिइएको कारण उनी नियन्त्रणबाहिर रहन सफल भएका थिए।
सिंहलाई पक्राउ गर्न पर्सा प्रहरीले डीएसपी हरि बस्नेतको नेतृत्वमा विशेष टोली गठन गरेको थियो। घरमा खानतलासी र उनका सहयोगीहरूसँग सोधपुछ गरेपछि प्रहरीले उनको अवस्थिति पत्ता लगाउन सफल भएको जनाएको छ।
के छ आरोप?
मेयर सिंहविरुद्ध २०८० फागुनमा नागरिकतासम्बन्धी किटानी जाहेरी दर्ता भएको थियो। आरोप अनुसार उनले एक युवतीलाई आफ्नी छोरी भएको विवरण देखाएर नेपाली नागरिकता बनाउन सहयोग गरेका थिए। छानबिनका क्रममा जिल्ला प्रशासन कार्यालय पर्सामा सम्बन्धित अभिलेखका केही अनुसूचीसमेत गायब भेटिएका थिए।
गृह मन्त्रालयले गठन गरेको छानबिन समितिसमक्ष सिंहले ती युवती आफ्नै छोरी भएको दाबी गरेका थिए। तर उक्त विषयलाई लिएर कानुनी विवाद बढ्दै गएपछि मुद्दा प्रहरी अनुसन्धानको चरणमा पुगेको हो।
अब पक्राउ परेका मेयर सिंहमाथि लिखतसम्बन्धी कसुर तथा नागरिकता प्राप्तिसँग जोडिएका आरोपबारे विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ।





Facebook Comments