काठमाडौं । पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिरवि लामिछानेले दिल्लीमा राजनीतिक भेटघाट सुरु गरेका छन्। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेका उनलाई भाजपा मुख्यालयमा बाजागाजा, पुष्पवर्षा र फूलमालासहित भव्य स्वागत गरिएको छ।

भाजपा मुख्यालयमा उनलाई पार्टीका अध्यक्षनीतिन नवीनलगायतका पदाधिकारीले स्वागत गरेका थिए। मुख्यालयको अवलोकनपछि लामिछाने र नीतिन नवीनबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटका क्रममा भाजपा नेताहरूले उनलाई पार्टी मुख्यालयको संरचना र कार्यप्रणालीबारे जानकारी गराएका थिए।

रास्वपाका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भ्रमणका क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर लगायत अन्य उच्च राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ। भाजपा मुख्यालयले उनको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्ने जनाएको छ।

भारत भ्रमणकै क्रममा लामिछानेले भारतीय सञ्चारमाध्यमहिन्दुस्तान टाइम्समा प्रकाशित लेखमार्फत नेपाल–भारत सम्बन्धलाई नयाँ दृष्टिकोणबाट अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले नेपाल र भारत केवल दुई देश नभई साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका राष्ट्र भएको उल्लेख गर्दै जनकपुर र अयोध्या तथा पशुपतिनाथ र केदारनाथबीचको सम्बन्धलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

“नेपाल र भारत केवल दुई देश होइनन्, हामी प्राचीन सभ्यताका सरोकारवाला हौँ। जनकपुर र अयोध्या जोडिएपछि मात्र रामको गाथा पूरा हुन्छ, पशुपतिनाथ र केदारनाथलाई एकसाथ ल्याएपछि मात्र आस्था पूरा हुन्छ,” उनले लेखेका छन्।

लामिछानेले विगतका विवाद र शत्रुतामा अल्झिनुभन्दा भविष्यका सम्भावनामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। नेपालले आफ्नो विदेश नीतिलाई नयाँ ढंगले रूपान्तरण गर्न सक्ने अवस्था रहेको उल्लेख गर्दै उनले खुला हृदय, स्पष्ट दृष्टिकोण र पारदर्शी एजेन्डाका साथ भारत तथा विश्वसँग सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन्।

उनले नेपालका कमजोरी लुकाएर बस्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धले भविष्यमा हासिल गर्न सक्ने सम्भावनालाई केन्द्रमा राखेर नयाँ सुरुआत आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

सोमबार भारत पुगेका लामिछानेले भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुका साथै भारतीय नेपाली समुदाय र समर्थकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। उनले अयोध्याको भ्रमणसमेत गर्ने तय भएको छ।