काठमाडौं, १२ जुन । नेपालस्थित बंगलादेश दूतावासले नेपाल र बंगलादेशबीचको मित्रता तथा सद्भावलाई थप मजबुत बनाउन ‘सिजनस् बेस्ट कम्प्लिमेन्ट्स’ कार्यक्रमअन्तर्गत विशिष्ट नेपाली व्यक्तित्वहरूलाई बंगलादेशी आम उपहारस्वरूप वितरण गरेको छ।

दूतावासका अनुसार यस वर्ष करिब १ हजार ७५० किलोग्राम उच्च गुणस्तरका बंगलादेशी आम नेपालका विशिष्ट व्यक्तित्व, उच्च सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, नागरिक समाजका अगुवा तथा बंगलादेशका शुभेच्छुकहरूलाई प्रदान गरिएको हो।

दूतावासले राष्ट्रपति, सभामुख, मन्त्रिपरिषद्का सदस्यहरू लगायत ३६० भन्दा बढी विशिष्ट व्यक्तित्वसम्म आमका प्याकेट पुर्‍याएको जनाएको छ।

उक्त आम बंगलादेशको ‘आमको राजधानी’ भनेर चिनिने चापाइनवाबगञ्ज जिल्लाका दुई वटा बगैंचाबाट संकलन गरिएको थियो। ताजापन र गुणस्तर कायम राख्न आमहरू बंगलबन्धा, फुलबारी (सिलिगुडी सीमा) हुँदै काँकडभिट्टा नाका भएर नेपाल ल्याइएको दूतावासले जनाएको छ।

यसपटक वितरण गरिएको आम ‘खिरशापत’ प्रजातिको हो, जसलाई भौगोलिक संकेत (GI) प्रमाणित गरिएको छ। दक्षिण एसियाकै उत्कृष्ट स्वादयुक्त आममध्ये यो प्रजाति लोकप्रिय मानिन्छ।

दूतावासले ‘म्याङ्गो डिप्लोमेसी’ को यो पहलले नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, जनस्तरको निकटता र आपसी सद्भावलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

दूतावासले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै पक्षप्रति आभार व्यक्त गर्दै यस्ता सांस्कृतिक तथा मैत्रीपूर्ण कूटनीतिक पहलले दुई देशबीचको सम्बन्ध अझ घनिष्ठ बन्ने अपेक्षा गरेको छ।