काठमाडौँ । चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच मंगलबार बिहान बेइजिङमा भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल–चीन सम्बन्धका विभिन्न आयामबारे विस्तृत छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन्। छलफलमा विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो।

परराष्ट्रमन्त्री खनालले नेपाल र चीनबीचको दीर्घकालीन मित्रतालाई अझ गहिरो बनाउने विषयमा चिनियाँ पक्षले देखाएको दृढ प्रतिबद्धताको प्रशंसा गरेका छन्। उनले आपसी सहयोग र साझेदारीलाई थप विस्तार गर्दै लैजान दुवै पक्ष सकारात्मक रहेको बताए।

जेठ १ गते चीन भ्रमणमा निस्केका मन्त्री खनालले यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि द्विपक्षीय वार्ता गरेका थिए। उनी भोलि नेपाल फर्किने कार्यक्रम रहेको छ।

चीनको राजधानी बेइजिङमा भएको यो भेटलाई नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने दिशामा महत्त्वपूर्ण कूटनीतिक संवादका रूपमा हेरिएको छ।