सङ्खुवासभा । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको हत्या प्रकरणमा सात जना प्रहरीसहित १५ जनालाई जिल्ला अदालत सङ्खुवासभाले जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७१(१०) बमोजिम उनीहरूलाई जन्मकैदको सजाय सुनाएको हो। साथै, संहिताको दफा १८६ बमोजिम प्रतिवादीहरूबाट मृतकका नजिकका हकदारलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने ठहर पनि गरिएको छ।

२०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा मादी नगरपालिका–५ सङ्खुवासभाका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो। कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिएपछि सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो।

अदालतले प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान सुमन गुरुङ, पवनकुमार महतो, कारागार सुरक्षा गार्ड दमनसिंह राई र नुसन राईलाई जन्मकैदको सजाय सुनाएको छ। त्यसैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीबन्दी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि जन्मकैदको फैसला गरिएको अदालतले जनाएको छ।

घटनापछि हत्या अभियोगमा जिल्ला कारागारका इञ्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो। तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागार पठाउन आदेश दिएको थियो। अहिलेको फैसलासँगै चर्चित कारागार हत्या प्रकरणमा अदालतले दोषी ठहर भएका सबै १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।