काठमाडौं । सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भएसकेको र जोखिमयुक्त स्थानमा सुरक्षा निकायहरु खटाइसकेको जानकारी दिए । त्यस्तै सरोकारवाला निकायलाई पनि यसअघिको भन्दा अझै बढि प्रभावकारी रुपमा विपद् व्यवस्थापनका खटिन निर्देशन दिइसकेको उनले बताए । उनले जनताको सुरक्षाको लागि चाहि आवश्यक परे हेलिकप्टर परिचालन गर्ने समेतको योजना रहेको जानकारी दिए । उनले सडक अवरुद्ध भए तत्कालै खुलाउन सक्ने गरि आवश्यक पूर्वाधारको समेत व्यवस्था भइसकेको उल्लेख गरे । 

मन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफल पनि नागरिकको सेवामा खटिन र गलत गर्ने कसैलाई पनि उन्मुक्ति नदिने गरि निर्मम हुन निर्देश गरिएको जानकारी दिए । त्यस्तै प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले मनसुन पूर्व तयारीको बारेमा छलफल भएको जानकारी दिए । उनले यसबर्ष सरदर भन्दा कम बर्षा हुने र बर्षा भए एकै ठाँउमा धेरै बर्षा हुने अनुमान गरिएकाले त्यसै अनुसार तयारी भएको बताए । 

प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।