काठमाडौं । प्रतिनिधिसभामा मन्त्रीहरूले संसदीय नियमावलीमा उल्लेखित मर्यादा र आचारसंहिता पालना नगरेको विषय फेरि उठेको छ । नियम उल्लंघन भएको भन्दै संसदमा नियमापत्ति भएपछि संसदीय अनुशासन र मर्यादाबारे बहस चर्किएको छ ।

नेकपा एमालेले लगातार भइरहेको यस्ता घटनाप्रति आपत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएको छ । तर सभामुख तथा सम्बन्धित मन्त्रीहरूले यस विषयलाई गम्भीर रूपमा नलिएको आरोप समेत लागेको छ ।

प्रतिनिधिसभा नियमावलीअनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सदस्यहरू उठेर सम्मान प्रकट गर्नुपर्ने, सभामुखको आसनबीचबाट हिँड्न नहुने र आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने व्यवस्था छ । तर मंगलबार र बिहीबारका बैठकमा मन्त्रीहरूले सो व्यवस्था उल्लंघन गरेको भन्दै आलोचना भएको हो ।

मंगलबार सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा दुई जना मन्त्री उठेका थिएनन् । बैठक बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक दिउँसो सम्बन्धित मन्त्रीको अनुपस्थितिले १५ मिनेटका लागि स्थगित भएको थियो । स्थगित भएर पुनः सुरु भएको बैठकमा अन्य सदस्यहरू उठेको तर दुई जना मन्त्री नउठेको भनेर एमालेका प्रमुख सचेतक ऐन महरले यो विषय उठाएका हुन् । त्यसबेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सभामुख प्रवेश गर्दा थाहा नपाए झैँ गरी बसिरहेका थिए ।

तर दुई दिन नबित्दै अर्का दुई जना मन्त्रीले यो व्यवस्थाको उल्लंघन गरेपछि फेरी उनै महरले नियमापत्ति गरेका छन् । नेकपाका सांसद रमेश मल्लले आफ्नो धारणा राखिरहेका थिए । त्यसबेला पूर्वाधार मन्त्री सुनिल लम्साल र परराष्ट्रमन्त्री शिशिर खनालले नियमावलीविपरित बैठकमा प्रवेश गरेका थिए । मन्त्रीहरुको नियमविपरितको गतिविधिमाथि महरले प्रश्न उठाउँदै नियमापत्ति गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीमा स्पष्ट व्यवस्था भए पनि यसको कार्यान्वयन कमजोर हुँदा यस्ता घटना दोहोरिन थालेका छन् । कतिपय अवस्थामा नियम उल्लंघनपछि पनि सभामुखबाट रुलिङ नआउँदा संसदीय अनुशासनप्रति प्रश्न उठेको छ ।

भिडियो :

चार जना मन्त्री कोको हुन् ?