काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ चम्पा अधिकारी ‘चाहाना’ ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै लेखिएको लामो राजीनामा पत्रमार्फत उनले पार्टीको वर्तमान नेतृत्व, कार्यशैली र वैचारिक दिशामाथि गम्भीर प्रश्न उठाएकी छन् । उनले पार्टीले आफ्नो मूल विचारधारा, एजेन्डा र प्रतिबद्धताबाट विचलित भएको आरोप लगाउँदै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

अधिकारीले पार्टी स्थापना कालदेखि नै उठाइएका सनातन धर्म, हिन्दु राष्ट्र, राष्ट्रिय पहिचान तथा सांस्कृतिक संरक्षणका एजेन्डाहरू व्यवहारमा कमजोर हुँदै गएको उल्लेख गरेकी छन् । साथै, ती मुद्दाहरू भाषणमा सीमित रहँदा व्यवहारमा कार्यान्वयन नभएको उनको आरोप छ ।

उनले नेतृत्वमा एकाङ्कीपन, आन्तरिक लोकतन्त्रको कमी, तथा पद र अवसरलाई प्राथमिकता दिने प्रवृत्ति बढेको दाबी गर्दै यसले पार्टीको वैचारिक आधार कमजोर बनाएको उल्लेख गरेकी छन् । पछिल्लो निर्वाचन परिणामलाई समेत उनले नेतृत्वको असफलता र वैचारिक विचलनको परिणामका रूपमा व्याख्या गरेकी छन् ।

राजीनामा पत्रमा उनले पार्टीले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेको, संगठनात्मक संरचना र निर्णय प्रक्रियामा कमजोरी देखिएको तथा आलोचनाभन्दा चाप्लुसीलाई प्राथमिकता दिइएको आरोपसमेत लगाएकी छन् ।

उनले आफू कुनै व्यक्तिगत कारणले नभई विचार र एजेन्डाको आधारमा पार्टीमा जोडिएको भए पनि अहिले ती एजेन्डाहरू कमजोर बनाइएकाले अलग हुने निर्णयमा पुगेको स्पष्ट पारेकी छन् ।

अधिकारीले अन्त्यमा भविष्यमा राष्ट्रहित, सिद्धान्त र साझा एजेन्डा एकै ठाउँमा आउने अवस्था बने पुनः सहकार्यको सम्भावना रहने अपेक्षा व्यक्त गर्दै पार्टीबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेकी छन् ।