चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्थापन, प्रतिनिधि समन्वय तथा सभाहल निर्माणलगायतका काम अघि बढाइएको पार्टीले जनाएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी ७, ८ र ९ गते चितवनको भरतपुरमा आयोजना हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्टहाउस चौरमा हुने तय गरिएको छ भने बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।

पार्टीका अनुसार महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा, संगठन विस्तार र भावी रणनीतिबारे महत्वपूर्ण निर्णय गर्नेछ।

महाधिवेशनका लागि देशभरबाट करिब तीन हजार प्रतिनिधि चयन भइसकेका छन्। प्रतिनिधिहरूको आवास, यातायात तथा अन्य व्यवस्थापकीय तयारीलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू परिचालन गरिएको पार्टीले जनाएको छ।

रास्वपाको केन्द्रीय कमिटी १ सय ५१ जनाको हुने भएको छ । रास्वपाले महाधिवेशनबाट १ सय ५१ जनाको केन्द्रीय समिति चयन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसमध्ये ५१ जना भने निर्वाचित सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ । तर, रास्वपाका एक सय केन्द्रीय सदस्य भने निर्वाचित भएर आउनेछन् । त्यसरी आउनेको सूचीमा ३५ जना भने प्रदेशबाट प्रतिनिधित्व गर्नेछन् ।

रास्वपाका नेताहरूको भनाइमा हरेक प्रदेशबाट ५ जनाको दरले ७ प्रदेशबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । ती निर्वाचितहरूको संख्या पनि निर्वाचित हुने एक सयकै सूचीमा पर्नेछन् ।

साथै, प्रदेश सभापतिलाई भने पदेन केन्द्रीय सदस्य बन्ने प्रस्ताव गरिएको छ ।

रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई संगठनात्मक रूपमा महत्वपूर्ण अवसरका रूपमा लिएको छ। महाधिवेशनमार्फत पार्टीको नेतृत्व संरचना सुदृढ गर्दै आगामी राजनीतिक यात्राको स्पष्ट मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।