चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । पार्टी स्थापनापछि पहिलोपटक हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र वैचारिक मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन भरतपुरमा हुनेछ भने बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा आयोजना गरिनेछ । देश तथा विदेशबाट चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र, निष्ठा र स्वस्थ प्रतिस्पर्धाप्रतिको प्रतिबद्धता दोहोर्याएका छन् । उनले पार्टीलाई यहाँसम्म पुर्‍याउन नेता तथा कार्यकर्ताले खेलेको भूमिकाको प्रशंसा गर्दै महाधिवेशनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।

सम्बोधनका क्रममा लामिछानेले पार्टी स्थापना गर्दाका चुनौतीपूर्ण दिनहरू स्मरण गर्दै भावुक बने । निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक सदस्यता र नागरिकता संकलन गर्नुपर्दाको संघर्ष, सीमित जनशक्ति र साधनबीच पार्टी निर्माणको यात्रालाई उनले सम्झिए । साथै विभिन्न राजनीतिक र कानुनी चुनौती तथा आफू पक्राउ पर्दाको क्षणलाई समेत उनले स्मरण गरेका थिए ।

लामिछानेले आन्तरिक लोकतन्त्र र पार्टीभित्रको प्रतिस्पर्धालाई संस्थागत विकासको आधारका रूपमा व्याख्या गरे । संस्थापक सभापतिका रूपमा आफूले लोकतान्त्रिक संस्कार विकासमा कति योगदान गर्न सकेँ भन्ने मूल्याङ्कन पार्टी सदस्यहरूले गर्ने विषय भए पनि लोकतन्त्र र निष्ठासँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेतृत्व चयनको प्रक्रियालाई स्वस्थ र मर्यादित बनाउन आग्रह गर्दै पदका लागि हुने प्रतिस्पर्धाले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । निर्वाचनपछि पनि सबै नेता तथा कार्यकर्ताले समान भावनाका साथ पार्टी निर्माणमा योगदान दिनुपर्ने उनको भनाइ थियो ।

सभापति लामिछानेले कठिन परिस्थितिमा साथ दिने नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा थप स्थापित गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए ।

महाधिवेशनले १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । विभिन्न पदमा आकांक्षीहरूको संख्या बढेका कारण केही पदमा निर्वाचन हुने सम्भावना देखिएको छ । यसलाई पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धाको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ ।

रास्वपाको संगठन विभागका अनुसार महाधिवेशनमा चार हजार दुई सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । प्रारम्भिक तथ्यांकअनुसार देशभरबाट तीन हजार ८१० प्रतिनिधि छनोट भइसकेका छन् भने २५ देशका प्रवास सम्पर्क विभागबाट करिब दुई सय प्रतिनिधि थपिनेछन् । सभापतिले मनोनयन गर्ने दुई सय प्रतिनिधिसहित कुल प्रतिनिधि संख्या चार हजार दुई सय नाघ्ने अनुमान छ ।

प्रदेशगत रूपमा कोशीबाट ५२०, मधेशबाट ६३०, बागमतीबाट ७९०, गण्डकीबाट ४७०, लुम्बिनीबाट ४९०, कर्णालीबाट ३६० तथा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

स्थापनाको छोटो अवधिमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्ति बनेको रास्वपाका लागि पहिलो महाधिवेशनलाई संगठन सुदृढीकरण, नेतृत्व हस्तान्तरण र भावी राजनीतिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।