
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमार्फत पार्टीको भावी नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्दैछ ।
उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका तय भए पनि प्रतिनिधिहरूको उपस्थितिसँगै भोजन व्यवस्थापनका कारण कार्यक्रम केही ढिलो हुने देखिएको छ ।
बन्दसत्रमा केन्द्रीय समितिबाट अनुमोदित विधान संशोधन प्रस्ताव, राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । ती प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने तयारी गरिएको छ ।
यससँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुनेछ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ बजेदेखि निर्वाचनसम्बन्धी औपचारिक कार्यक्रम सुरु गरिनेछ ।
निर्वाचन तालिकाअनुसार बिहान १० बजे महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयन फारम वितरण हुनेछ । उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
राति ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । त्यसपछि दाबी–विरोधमाथि जाँचबुझका लागि एक घण्टाको समय छुट्याइएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ९ बजेदेखि १५ मिनेटको समय दिइनेछ भने राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भए पनि सभापतिमा रवि लामिछानेलाई नै निरन्तरता दिने तयारी रहेको बताइएको छ । यद्यपि निर्वाचन आयोगले सम्पूर्ण पदका लागि निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ ।
असार ९ गते बिहान ७ बजेदेखि डेढ घण्टा मौन अवधि रहनेछ । त्यसपछि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान हुनेछ । मतदान सम्पन्न भएको करिब दुई घण्टापछि नतिजा सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
अन्य पदाधिकारी पदका लागि दोस्रो चरणको मतदान हुने र त्यससम्बन्धी विस्तृत कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।





Facebook Comments