चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठनात्मक संरचनालाई थप समावेशी बनाउने उद्देश्यले विधान संशोधनको प्रस्ताव अघि सारेको छ। पहिलो राष्ट्रिय महाधिवेशनअघि गरिएको संशोधनमार्फत महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको हो।

विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार नयाँ व्यवस्थाअनुसार पार्टीको उपसभापति पदमा कम्तीमा एक महिला अनिवार्य हुनेछिन्। संशोधित विधानले सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ।

त्यस्तै, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने व्यवस्था प्रस्ताव गरिएको छ। अब पार्टीको केन्द्रीय कार्यसमिति १ सय ५१ सदस्यीय हुनेछ। यसमध्ये सभापतिसहित १ सय जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ५१ जना सदस्य सभापतिले समावेशी आधारमा मनोनयन गर्ने व्यवस्था गरिएको छ। सातै प्रदेशका प्रदेश सभापति पदेन सदस्य रहनेछन्।

यसअघि कोषाध्यक्ष र प्रवक्ता मात्र सभापतिले मनोनयन गर्ने व्यवस्था रहेकामा संशोधित विधानले एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत मनोनयन गर्न सक्ने अधिकार दिएको छ।

पराजुलीले संशोधित विधानले समावेशिताको सिद्धान्तलाई संस्थागत रूपमा स्थापित गर्ने प्रयास गरेको बताए। उनका अनुसार पार्टीका सबै तहमा महिलाको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

प्रत्यक्ष निर्वाचित हुने ९९ केन्द्रीय सदस्यमध्ये प्रत्येक प्रदेशबाट पाँच जनाका दरले ३५ सदस्य चयन हुनेछन्। तीमध्ये प्रत्येक प्रदेशबाट कम्तीमा दुई महिला अनिवार्य रहने व्यवस्था गरिएको छ।

यस्तै, प्रदेशगत जनसांख्यिक संरचनालाई आधार बनाएर विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। गण्डकी र कोशी प्रदेशबाट एक–एक जना जनजाति, कोशी र सुदूरपश्चिम प्रदेशबाट एक–एक जना दलित, लुम्बिनी प्रदेशबाट एक जना थारू तथा मधेश प्रदेशबाट एक जना मधेशी दलित प्रतिनिधि अनिवार्य रहने व्यवस्था प्रस्ताव गरिएको छ।

पार्टीभित्र समायोजन र प्रतिनिधित्वको भावना सुदृढ गर्न सभापतिलाई मनोनयनको थप अधिकार प्रदान गरिएको पराजुलीले जानकारी दिए। संशोधित विधानले वरिष्ठ नेतालाई स्वतः रहने व्यवस्था पनि गरेको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको हो। महाधिवेशनको बन्दसत्र आज उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा हुँदैछ भने नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया भोलिदेखि अघि बढ्ने कार्यतालिका रहेको छ।