
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षले पार्टीभित्र देखिएको बेथिति, पूर्वाग्रहपूर्ण कारबाही र विधानविपरीत गतिविधिप्रति असन्तुष्टि जनाउँदै हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेको बताएका छन्।
पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै असार ५ र ६ गते काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा अनुपस्थित रहनुको कारण स्पष्ट पारेका हुन्।
वक्तव्यमा पार्टीप्रतिको आफ्नो प्रतिबद्धता यथावत् रहेको उल्लेख गर्दै उनीहरूले लामो समयदेखि पार्टीभित्र देखिएका सङ्कुचित सोच, आन्तरिक लोकतन्त्रविपरीत गतिविधि तथा पक्षपातपूर्ण कारबाही सच्याउन गरिएको प्रयास सफल नभएपछि साङ्केतिक विरोधस्वरूप बैठक बहिष्कार गर्नुपरेको बताएका छन्।
उनीहरूले पार्टीको बृहत्तर हित, आन्तरिक एकता र लोकतान्त्रिक संस्कृतिको संरक्षणका लागि आफ्नो कदम उठाइएको दाबी गरेका छन्। राप्रपा अहिले वैचारिक, सङ्गठनात्मक र रणनीतिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै पार्टीलाई सशक्त राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन आवश्यक रहेको उनीहरूको भनाइ छ।
अनुशासनका नाममा पूर्वाग्रह, प्रतिशोध र व्यक्तिगत आग्रहका आधारमा कारबाही गरिनु अनुचित भएको जनाउँदै पूर्वअध्यक्षहरूले केन्द्रीय समितिको बैठकमा कार्यसमिति बाहिरका व्यक्तिहरूलाई सहभागी गराउने अभ्यासप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।
पार्टीभित्र बढ्दो निराशा र अविश्वासको वातावरण अन्त्य गर्न अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत सहभागी हुने उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्नुपर्ने प्रस्ताव उनीहरूले अघि सारेका छन्।
पार्टी निर्माणमा योगदान पुर्याएका पूर्वअध्यक्षहरूमाथि नै आरोप र लाञ्छना लगाउने प्रवृत्ति बढेको भन्दै उनीहरूले यसलाई दुःखद र अस्वीकार्य भएको बताएका छन्।
यद्यपि, आगामी २०८३ मङ्सिर २६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने पार्टीको निर्णयलाई भने उनीहरूले स्वागत गरेका छन्। महाधिवेशनको मिति घोषणा भइसकेकाले पार्टीको स्थापित अभ्यासअनुसार वर्तमान केन्द्रीय समिति स्वतः महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुनुपर्ने उनीहरूको धारणा छ।
महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र परिणाममुखी बनाउन विगतमा प्रस्तुत सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनीहरूले आफूहरू कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा गुटगत राजनीतिबाट प्रेरित नभएको स्पष्ट पारेका छन्।
‘हाम्रो एक मात्र चाहना पार्टी कमजोर वा पतन भएको देख्न नपरोस् भन्ने हो,’ वक्तव्यमा उल्लेख छ।
पूर्वअध्यक्षहरूले पार्टी छाडेर गएका नेता–कार्यकर्तालाई पुनः फर्किन र अन्योलमा रहेका कार्यकर्तालाई उच्च मनोबलका साथ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्। साथै, आगामी महाधिवेशनले हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको आधारमा सुशासन, राष्ट्रिय एकता र समृद्धिको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने उनीहरूको निष्कर्ष छ।





Facebook Comments