
सल्यान । विभिन्न सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहँदै आएका सल्यानी युवा युवराज खड्कालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति सल्यानी युवा सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालले आइतबार (असार ८ गते) एक विज्ञप्ति जारी गर्दै खड्काको निशर्त रिहाइको माग गरेको हो ।
युवराज खड्काले राज्यका निकायमा हुने बेथिति, विसङ्गति र विशेषगरी काठ चोरी-निकासीजस्ता सार्वजनिक चासोका विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका थिए । सोही विषयलाई लिएर उनलाई पक्राउ गरिनु र साइबर अपराधजस्तो गम्भीर प्रकृतिको मुद्दा दर्ता गरिनु अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको सञ्जालको ठहर छ ।

सञ्जालका अध्यक्ष सुदर्शन बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "सार्वजनिक सरोकारका विषयमा सामाजिक सञ्जालमार्फत अभिव्यक्ति व्यक्त गरेकै आधारमा साइबर अपराधको मुद्दा चलाउनु अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले चिन्ताजनक विषय हो । यसले आम नागरिकमा भयको वातावरण सिर्जना गर्ने देखिन्छ ।" सञ्जालले यस मुद्दा दर्ता प्रक्रिया र यसका आधारहरूबारे गम्भीर प्रश्न उठाउँदै घटनाको निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग गरेको छ ।
खड्काको गिरफ्तारीलाई लिएर अहिले विभिन्न सरोकारवाला र पत्रकारहरूले पनि अध्ययन गरिरहेका छन् । सल्यानी युवा सञ्जालले युवराज खड्कालाई तत्काल र विना सर्त रिहा गर्न माग गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई जोडदार आग्रह गरेको छ ।





Facebook Comments