काठमाडौं ।सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई काठमाडौं ल्याइएको छ।

सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो।

पक्राउपछि उनलाई सोमबार साँझ बाँकेको नेपालगञ्ज लगिएको थियो। त्यसपछि राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको विभागले जनाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरेका अनुसार अब पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइनेछ। त्यसका लागि विशेष सरकारी वकिल कार्यालय, माइतीघरमार्फत अदालतमा पेश गर्ने तयारी गरिएको छ।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको हो। पक्राउअघि सोमबार नै अनुसन्धान टोलीले ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा समेत छापा मारेको थियो।