
काठमाडौं । २०८१ साल असारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार एकाएक ढल्यो। सत्ता बाहिर रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच रातारात भएको सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो र कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। त्यसबेला प्रचण्डले संसदमै ओलीमाथि विश्वासघात गरेको आरोप लगाउँदै तीव्र आलोचना गरेका थिए।
त्यसयता ओली र प्रचण्डबीचको सम्बन्ध निकै चिसिएको थियो। यद्यपि, २०७४ सालमा यी दुई दलले चुनावी गठबन्धन गर्दै झण्डै दुईतिहाइ बहुमतको सरकार बनाएका थिए। पछि पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि नेतृत्व विवादका कारण त्यो एकता लामो समय टिक्न सकेन। त्यसअघि र त्यसपछि पनि नेपाली कम्युनिष्ट आन्दोलनमा फुट र जुटको क्रम निरन्तर चलिरह्यो।
तर अहिले परिस्थिति फेरिएको छ। पछिल्लो निर्वाचनपछि वाम दलहरूको जनमत कमजोर बनेसँगै फेरि एकताको बहस सुरु भएको छ। मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एउटै मञ्चमा देखिए। कुनै समय एउटै पार्टीमा रहेर पनि विभाजित भएका यी नेताहरूले अहिले वाम एकताको आवश्यकता औँल्याएका छन्।
कार्यक्रममापूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको मोडमा पुगेको बताउँदै आन्दोलनलाई अझ सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरिन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्तिबीच कार्यगत एकता आवश्यक रहेको बताए। तर उनले एमालेको नीति सही रहेको दाबी गर्दै एकताका लागि एमालेको नीतिमा सहमत हुनुपर्ने स्पष्ट पारे।
प्रचण्डले वामपन्थी र देशभक्त शक्तिबीच सहकार्यमा ढिलाइ गर्नु गल्ती हुने बताए। तर विगतका कमजोरीको समीक्षा नगरी हतारमा पार्टी एकता गर्दा फेरि विभाजनको अवस्था आउन सक्ने भन्दै सचेत रहनुपर्ने धारणा राखे।
माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनले गरेका कमजोरीको गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए। उनले सहकार्य गर्न सकिने विषयमा मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे पनि तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताए।
त्यस्तैझलनाथ खनालले वाम दलहरू विभाजित भएकै कारण पछिल्लो निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरे। एमाले र नेकपाबीच चुनावअघि नै कार्यगत एकता भएको भए करिब एक सय सिट जित्न सकिने उनको भनाइ थियो।
यद्यपि, वाम एकताको आवाज फेरि उठे पनि चुनौती भने पुरानै छन्। आत्मसमीक्षा, नेतृत्व शैली र साझा राजनीतिक दृष्टिकोणमा सहमति बिना हुने कुनै पनि एकता २०७५ सालको नेकपा एकताजस्तै छोटो आयु भएको प्रयोग बन्न सक्ने आशंका कायमै छ। किनकि अहिले नागरिकले नयाँ नारा होइन, जिम्मेवार नेतृत्व र नयाँ राजनीतिक संस्कारको अपेक्षा गरेका छन्।





Facebook Comments