
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपेर, दही–चिउरा खाएर तथा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। कृषिप्रधान मुलुक नेपालमा धान रोपाइँको सुरुवातसँग जोडिएको यो दिन किसानका लागि मात्रै नभई सम्पूर्ण नेपालीका लागि सांस्कृतिक र कृषि पर्वका रूपमा स्थापित भएको छ।
असार १५ लाई वर्षभरिका लागि खाद्यान्न उत्पादनको आधार तयार गर्ने महत्वपूर्ण दिन मानिन्छ। खेतीपातीको चटारोबीच खेतमा काम गरेर थकित भएका किसानले शरीरलाई शीतलता र ऊर्जा मिल्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहँदै आएको छ। यही परम्परालाई निरन्तरता दिँदै कृषि क्षेत्रमा आबद्ध व्यक्तिमात्र होइन, विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीले पनि आज दही–चिउरा खाएर राष्ट्रिय धान दिवस मनाइरहेका छन्।
नेपाल सरकारले २०६२ सालदेखि असार १५ लाई औपचारिक रूपमा राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। यस अवसरमा देशका विभिन्न स्थानमा हिलोमा धान रोप्ने, असारे भाका गाउने, लोकदोहोरी प्रस्तुत गर्ने तथा कृषि प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरिएका छन्। हिलोमा रमाउँदै धान रोप्नु र कम्तीमा एकपटक हिलोमा पस्नु शुभ मानिने सांस्कृतिक विश्वास अझै नेपाली समाजमा जीवित छ।
तर यस वर्ष भने राष्ट्रिय धान दिवस मनाइरहँदा किसान अपेक्षाकृत उत्साहित देखिएका छैनन्। असारको मध्यसम्म पनि देशका अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नभएकाले धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। सिँचाइको सुविधा नभएका क्षेत्रमा वर्षाको प्रतीक्षामा खेत अझै बाँझै छन्।
यस्तै, कतिपय जिल्लाका किसानले रासायनिक मलको अभावका कारण खेती प्रभावित भएको गुनासो गरेका छन्। यद्यपि कृषि, वन तथा वातावरण मन्त्रालयले भने धान खेतीका लागि आवश्यक रासायनिक मल पर्याप्त मौज्दातमा रहेको र वितरण प्रक्रिया नियमित रहेको जनाएको छ।
मनसुन ढिलाइ, रोपाइँमा सुस्तता र मल व्यवस्थापनका चुनौतीबीच यस वर्षको राष्ट्रिय धान दिवस मनाइए पनि समयमै पर्याप्त वर्षा भए धान रोपाइँले गति लिने र उत्पादनमा उल्लेख्य असर नपर्ने अपेक्षा कृषि विज्ञहरूले गरेका छन्।





Facebook Comments