काठमाडौं । सरकारले भदौ २३ र २४ का घटनासँग सम्बन्धित विभिन्न अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ तत्काल अघि नबढाउन महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारी वकिल कार्यालयहरूलाई आग्रह गरेको छ।

गृह मन्त्रालयले ती मुद्दा फिर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने तयारी भइरहेको जनाउँदै कार्यदलको प्रतिवेदन नआउँदासम्म अदालतमा विचाराधीन मुद्दाको प्रक्रिया अघि नबढाउन अनुरोध गरेको हो। मन्त्रालयको पत्र प्राप्त भएपछि महान्यायाधिवक्ता कार्यालयले देशभरका सरकारी वकिल कार्यालयहरूलाई सोहीअनुसार परिपत्र जारी गरेको छ। कार्यालयले उक्त पत्रको बोधार्थ सर्वोच्च अदालतमा समेत पठाएको छ।

सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिविरुद्ध दायर भएका मुद्दाको कानुनी अवस्थाबारे अध्ययन गरी आवश्यक सिफारिस गर्न कार्यदल गठन गर्ने तयारी गरेको जनाएको छ। कार्यदलको प्रतिवेदनपछि मात्र मुद्दा फिर्तासम्बन्धी निर्णय प्रक्रिया अघि बढाइने सरकारको तयारी छ।

यद्यपि, विचाराधीन मुद्दाको सुनुवाइ रोक्ने वा निरन्तरता दिने अधिकार अदालतकै क्षेत्राधिकारभित्र पर्ने कानुनी व्यवस्था छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २४ का घटनासँग सम्बन्धित मुद्दाको अध्ययनका लागि कार्यदल गठनको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यदलको कार्यादेश भने अझै तय हुन बाँकी रहेको उनले बताए।

मन्त्रालयका अनुसार कार्यदलले अदालतमा विचाराधीन मुद्दा तथा अनुसन्धानको अवस्थाबारे अध्ययन गरी सरकारलाई सुझाव दिनेछ। यही तयारीका क्रममा गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयसँग मुद्दाको सुनुवाइ तत्काल अघि नबढाउन सहजीकरणको अनुरोध गरेको हो।

सरकार र जेनजी आन्दोलनकारीबीच गत मंसिरमा भएको सम्झौतामा आन्दोलनमा सहभागी भएकै आधारमा दायर भएका मुद्दाको विवरण संकलन गरी निश्चित अवधिभित्र छानबिन गर्ने सहमति भएको थियो। तर त्यसबेला गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको कार्यदलले अदालतमा विचाराधीन विषय आफ्नो कार्यक्षेत्रबाहिर रहेको भन्दै ती मुद्दामाथि अध्ययन गरेको थिएन।

हाल भदौ २४ का घटनामा तोडफोड तथा विध्वंसमा संलग्न रहेको आरोपमा दुई सयभन्दा बढी व्यक्तिविरुद्ध विभिन्न अदालतमा मुद्दा विचाराधीन छन्। आन्दोलनकारीसँग भएको सहमतिमा ज्यान मार्ने कसुर, सुनियोजित तथा संगठित अपराधसँग सम्बन्धित मुद्दाबाहेक अन्य मुद्दामात्र अध्ययनको दायरामा पर्ने उल्लेख गरिएको थियो।