
काठमाडौं । खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरूले सरकारले खाना उपलब्ध नगराएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार सोमबार बेलुकादेखि खानाको व्यवस्था नभएपछि रातभर भोकै बस्नुपरेको छ।
‘खाना नदिएपछि रातभर भोकै बस्यौं, केही उपाय नलागेपछि बिहानैदेखि विरोध गरिरहेका छौं,’ होल्डिङ सेन्टरमा बस्दै आएका एक सुकुमवासीले गुनासो गरे।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले पनि सोमबार बिहानसम्म मात्रै खाना पाएको जानकारी दिए। ‘हिजो बिहान खाना खाएर निस्केको हुँ, साँझदेखि खाना नदिएको रहेछ,’ उनले भने।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ। तर, त्यहाँ रहेका सुकुमवासीहरू सरकारले आफूहरूलाई बस्न दिएको अवधिसम्म पनि आधारभूत आवश्यकताबाट वञ्चित गरेको गुनासो गर्छन्।
खरिपाटी होल्डिङ सेन्टरमा हाल ९९ परिवारका २०७ जना बसोबास गरिरहेका छन्। विरोध सुरु भएपछि त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसैबीच, कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारले घोषणा गरेको राहतका लागि निवेदन नदिने निर्णय गरेका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले राहत रकमभन्दा पनि सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। वैकल्पिक आवासको व्यवस्था नगरी केही रकम उपलब्ध गराउनु दीर्घकालीन समाधान हुन नसक्ने उनीहरूको भनाइ छ।
‘हामीले खोजेको राहत होइन, राज्यले भत्काएको हाम्रो बासको सम्मानजनक व्यवस्थापन हो,’ विज्ञप्तिमा उल्लेख छ।
प्रभावित परिवारले राहतको सट्टा सम्मानजनक वैकल्पिक आवासको व्यवस्था, सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनःस्थापनाको योजना कार्यान्वयन तथा राहतका लागि निवेदन नदिएको आधारमा कुनै पनि प्रकारको विभेद वा दबाब नगर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले अधिकार, सम्मान र न्यायपूर्ण पुनःस्थापनाका लागि शान्तिपूर्ण संघर्ष जारी राख्ने र दिगो व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टरमै बसिरहने बताएका छन्।





Facebook Comments