
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवं पूर्वमन्त्री डा. आरजु राणाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन म्याद जारी गरेको छ।
विभागका अनुसन्धान अधिकृतहरूको टोलीले सोमबार बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर उपस्थितिका लागि म्याद टाँसेको थियो। त्यसको भोलिपल्ट मंगलबार गोरखापत्र दैनिकमार्फत पनि सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सम्पर्कमा आउन भनिएको हो।
विभागसम्बद्ध स्रोतका अनुसार निवासमा म्याद बुझ्ने व्यक्ति नभेटिएपछि र सचिवालयका प्रतिनिधिहरू सम्पर्कमा नआएपछि राष्ट्रिय दैनिकमार्फत सूचना प्रकाशित गरिएको हो।
गोरखापत्रमा प्रकाशित सूचनामा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयवीरसँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले उपस्थित हुन भनिएको उल्लेख छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ अनुसार सम्पर्कविहीन व्यक्तिलाई बढीमा ३० दिनसम्मको म्याद दिई सूचना गर्न सकिने व्यवस्था छ। विभागले भने प्रारम्भिक चरणमा सात दिनको समय दिएको छ।
विभागका अनुसार अनुसन्धानका क्रममा जयवीरको सम्पत्ति र आर्थिक कारोबारमा अस्वाभाविकता देखिएको तथा केही शंकास्पद आर्थिक गतिविधिका संकेत फेला परेपछि विस्तृत अनुसन्धान अघि बढाइएको हो।
स्रोतका अनुसार देउवा परिवारका सदस्यहरूको नाम नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का र राहदानी खरिद प्रकरणजस्ता विवादित घटनासँग समेत जोडिएको छ। साथै, पछिल्लो एक वर्षमा देउवा परिवारले करिब ७३ रोपनीभन्दा बढी जग्गा खरिद गरेको तथ्य फेला परेको र त्यसको स्रोत तथा औचित्यबारे अनुसन्धान केन्द्रित गरिएको बताइएको छ।
विभागले प्रारम्भिक अनुसन्धानको दायरा पार गरेर विस्तृत तहमा छानबिन अघि बढाएको जनाएको छ भने जयवीर देउवालाई बयानका लागि उपस्थित हुन औपचारिक रूपमा म्याद जारी गरिएको छ।





Facebook Comments