प्रतिनिधिसभामा सरकारमाथि विपक्षीको मात्र होइन, आफ्नै सांसदको पनि दबाब बढेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले किसानको मल अभावदेखि ग्यास संकट, महाकाली सिँचाइ, हवाई सुरक्षा र सेवा प्रवाहका समस्यासम्म उठाउँदै सरकारसँग तत्काल सुधारको माग गरेका छन्।

बुधबारको बैठकमा सरकार आफ्नै सांसदको आलोचनाको केन्द्रमा परेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले किसानका समस्या, सरकारी सेवा प्रवाह, एलपीजी ग्यास अभाव, महाकाली सिँचाइ आयोजना र नेपालको हवाई सुरक्षालगायत विषयमा सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

रास्वपा सांसद सन्तोष राजवंशीले रोपाइँको मुख्य समयमा किसानले मल नपाउँदा उत्पादनमै असर पर्ने चेतावनी दिए। झापा, मोरङ र सुनसरीमा अझै ७२ प्रतिशत रोपाइँ बाँकी रहेको उल्लेख गर्दै तत्काल पर्याप्त मल उपलब्ध गराउन सरकारसँग माग गरे।

सांसद शम्भु प्रसाद ढकालले किसानका गुनासा सुनाउँदै सरकारी कार्यालयदेखि सडकसम्म नागरिकले सास्ती खेपिरहेको बताए। ट्राफिक, मालपोत, नापी, विद्युत् सेवा र मल अभावजस्ता समस्यामा सम्बन्धित मन्त्रीहरूले संसद्मै स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।

सांसद दीपक बोहोराले महाकाली सिँचाइ आयोजनाका लागि शारदा नदीको पानी उपलब्ध गराउन भारतसँग कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे। कृष्णपुर–९ क्षेत्रमा नहरको सीमांकन गर्दा स्थानीयको राय बेवास्ता गरिएको उनको आरोप थियो।

सांसद लिमा अधिकारीले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन उच्चस्तरीय कूटनीतिक पहल र हवाई सुरक्षा सुधारलाई तीव्र बनाउन सरकारसँग माग गरिन्।

सांसद कमल सुवेदीले बजारमा एलपीजी ग्यासको अभावले सर्वसाधारण र व्यवसायी दुवै प्रभावित भएको भन्दै नियमित आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।

सामान्यतया सत्तारुढ दलका सांसदहरूले सरकारको बचाउ गर्ने परम्परा रहने भए पनि रास्वपाका सांसदहरूले जनजीविकासँग जोडिएका विषयमा सरकारकै कमजोरी औँल्याउँदै सुधारको माग गरेका छन्। संसद्मा आफ्नै सांसदबाट उठेका यी प्रश्नहरूले सरकारभित्र सेवा प्रवाह र कार्यसम्पादनप्रति असन्तुष्टि बढ्दै गएको संकेत गरेको छ।

सत्तारुढ दलभित्रैबाट सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि सेवा प्रवाह सुधार र जनअपेक्षाअनुसार काम गर्ने दबाब सरकारमाथि अझ बढेको देखिन्छ।