मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको मृत्यु प्रकरणले संसद् र सडक दुवै तताएको छ। घटनालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा मागदेखि सरकारको भूमिकामाथि तीव्र प्रश्न उठिरहेका बेला गृहमन्त्री सुधन गुरुङले संसद्मा सरकारको बचाउ गर्दै विपक्षी सांसदहरूलाई घटनामा राजनीति नगर्न चेतावनी दिएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सरकारले गणेश नेपालीलाई बचाउन कुनै कसर बाँकी नराखेको दाबी गरे। उनले उपचारका क्रममा आफू रातभर खटिएको, भारत पठाउने तयारीसमेत गरिएको तर चिकित्सकहरूको सल्लाहअनुसार सम्भव नभएको बताए।
गुरुङले भने,"मलाई ढाँट्न आउँदैन, सदनलाई ढाँट्दा मलाई पाप लाग्छ।"उनले आफूले प्रचारका लागि सञ्चारकर्मी नबोलाएको स्पष्ट पार्दै"मैले घेरेर बस्न मिडियाकर्मी बोलाएको होइन। मलाई स्टन्टबाजी गर्ने इच्छा छैन, देशको सेवा गर्न आएको हुँ,"भने।
विपक्षी सांसदहरूले उपचारका क्रममा वीर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर गृहमन्त्रीले ‘स्टन्ट’ गरेको आरोप लगाएका थिए। त्यसको प्रतिवाद गर्दै गुरुङले सांसदहरूलाई नै प्रश्न गरे,"तपाईंहरू हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन, जनताको सेवा मुखले बोलेर होइन, फिल्डमा गएर गर्नुपर्छ।"
संसद्मा उनले सरकार सञ्चालनको जिम्मेवारी तीन तहमा विभाजित रहेको उल्लेख गर्दै घटनास्थलमा नगर प्रहरीले कारबाही गरेको बताए।"जहाँ घटना भयो, त्यहाँ ट्राफिक प्रहरीले होइन, नगर प्रहरीले ह्वील लक लगाएको हो। स्थानीय सरकार कसको छ? प्रदेश सरकार कसको छ?"भन्दै उनले जिम्मेवारीबारे प्रतिपक्षलाई प्रतिप्रश्न गरे। कालो सिसासम्बन्धी कानुन आफूहरूले नभई संसद्ले बनाएको भन्दै त्यसको कार्यान्वयन मात्र गरिएको जिकिर गरे।
दैलेख दुर्घटनामा हेलिकोप्टर प्रयोग नगरिएको विषयमा उठेको प्रश्नको जवाफ दिँदै उनले"हेलीले माथिबाट तल बगेको देखिन्छ? हेलि गएर उद्धार हुने होइन,"भन्दै आलोचनाको प्रतिवाद गरे। ट्राफिक जरिवाना बढाइएको आरोपमा पनि उनले जरिवानाको व्यवस्था संसद्ले नै बनाएको कानुनअनुसार भएको र नयाँ व्यवस्था अझै पारित नभएको स्पष्ट पारे।
निर्मला पन्त हत्या प्रकरणको प्रसंग जोड्दै गृहमन्त्रीले विगतमा पनि मृतकको घटनालाई राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाए।"निर्मला पन्त सानो नानीको लासमाथि राजनीति गर्ने को हो?"भन्दै उनले संवेदनशील घटनामा राजनीति नगर्न आग्रह गरे।
यता, संसद्मा भने सरकारमाथि तीव्र आक्रमण भयो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री वालेन्द्र शाह घटनाप्रति मौन बसेको भन्दै प्रश्न उठाइन्। उनले विपक्षमा हुँदा सरकारलाई कठोर प्रश्न गर्ने बालेन अहिले स्वयं सरकारको नेतृत्वमा हुँदा किन मौन बसेको भन्दै आलोचना गरिन्। सरकारले नागरिकको सुरक्षा गर्न नसकेको आरोप लगाउँदै उनले"अब कालो चस्मा खोल्ने बेला आएको छ"टिप्पणी गरिन्।
राष्ट्रिय सभामा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको मृत्यु सरकारको"क्रुरता"को परिणाम भएको आरोप लगाए। आगोले जलेका व्यक्तिलाई समेत अमानवीय व्यवहार गरिएको दाबी गर्दै उनले प्रधानमन्त्री शाहले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गरे।
संसद्सँगै सडकमा पनि विरोध चर्किएको छ। माइतीघरमा प्रदर्शनमा उत्रिएका युवाहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै गणेश नेपालीको मृत्यु राज्यको संवेदनहीनताको परिणाम भएको आरोप लगाए। उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूका लागि स्पष्ट नीतिको अभावले यस्ता घटना निम्तिएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
यसैबीच, गृहमन्त्री गुरुङले घटनाको छानबिनका लागि नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन्। घटनासम्बन्धी अनुसन्धानका क्रममा महानगर प्रहरी बलका तीन जना प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए।
गृहमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मै विवाद पनि भएको छ। सांसदहरूलाई"घाँटी सुक्ने गरी चिच्याएको"भन्ने अभिव्यक्तिप्रति नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति जनाउँदै उक्त टिप्पणी संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
गणेश नेपालीको मृत्यु प्रकरणले अहिले संसद्, सडक र सरकारबीच तीव्र राजनीतिक बहस जन्माएको छ। सरकार घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाइरहेको छ भने प्रतिपक्षले राजनीतिक र नैतिक जिम्मेवारीको प्रश्न उठाउँदै प्रधानमन्त्रीको राजीनामासम्म माग गरिरहेको छ। अब छानबिन समितिको प्रतिवेदनले घटनाको वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ।





Facebook Comments