आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको उपस्थितिमा २१३औं भानु जयन्ती मनाएको छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका  कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताए । उनले भानुभक्तले देखाएको मार्ग–सरलता, स्पष्टता, जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । 

कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा आना एम स्टिरलाई उहाँहरुले नेपाली साहित्य क्षेत्रमा गर्नुभएको योगदानका लागि रथारोहण गरी सम्मान गरिएको थियो ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । 

त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायतका कृति छन् । 

१९५ वर्षअघि उदाएका नेपाली वाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन सङ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।

उनको मृत्यु वि सं १९२५ असोज ६ गते सेतीघाट, तनहुँमा भएका थियो ।