
काठमाडौं । काठमाडौंका बिभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको तीनकुनेस्थीत कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थीत हिमालयन टेलिभिजन, नयाँ बानेश्वरस्थीत अनलाइनखबर मिडिया हाउसबाहिर सडक नै अवरुद्ध हुने गरि शंकास्पद रुपमा पार्किङ गरिएका गाडीहरुलाई प्रहरीले क्रेन प्रयोग गरेर प्रहरीले उठाएको ह ।
अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर राखिएको गाडी भने प्रहरीले साँचो प्रयोग गरेर चलाएर लगेको छ । यसैबीच सञ्चारगृह बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधन भेटिएपछि नेपाल पत्रकार महासंघले सञ्चारगृहमा पुगेर छलफल गरेको छ । मध्यबानेश्वरस्थीत हिमालयन टेलिभिजनमा महासघका प्रतिनिधि छलफलमा पुगेका थिए । त्यसपछि अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यम र पत्रकारहरुलाई त्रसित गराउने मनसायबाट भएको घटनाको छानविन हुनुपर्ने बताइन् । राज्यले नै सञ्चारमाध्यमलाई अंकुश लाउने काम गरेको आशंका गरिएको छ ।
अनलाइन खबरको गेटमा राखिएको बा.१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार पौडेलको ठेगाना काठमाडौँ उल्लेख छ । कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको बा.प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानीमा बैंकको नाममा देखिएको छ ।
बैंकबाट ऋण लिएर एसटी मोटर्सले सो गाडी प्रयोग गर्दै आएको भेटिएको छ । त्यसैगरी हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर छाडिएको बा.१० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको भेटिएको छ ।

यसैबीच कान्तिपुरमा पार्क गरिएको नम्बरप्लेट (बा ०१–०३४ च ८४८०) को गाडी रवि जैसवालले प्रयोग गरिरहेको खुलेको छ । उनी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनीत सदस्य हुन् । रास्वपामा काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाहको समूहको एकीकरण भएपछि उनी यो विभागमा मनोनीत भएका थिए । उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले मनोनीत गरेका थिए । रौतहटको गरुडा नगरपालिका–४ का जैसवालको चन्द्रनिगाहपुर र गरुडामा मेसिनरीको व्यापार छ । जैसवाल २०७९ को आमनिर्वाचनमा मधेश प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर पराजित भएका थिए । जैसवाल २०७९ को आमनिर्वाचनमा मधेश प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव लडेका थिए । लोकप्रिय मत पाए पनि उनी पराजित भए । उता नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको छ रातोपुलस्थित थापा निवासअगाडि बाटो बन्द गर्ने गरी बीएसी ९५७५ नम्बरको गाडी राखिएको हो । सञ्चारगृह र विपक्षी नेताको घरअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका सवारीमध्ये एउटा सवारी सत्तारुढ रास्वपासँग आबद्ध व्यक्तिले प्रयोग गरिरहेको खुलेपछि घटनाले नयाँ रुप लिएको छ । सत्तारुढ दलसँग जोडिएका व्यक्तिको नाम सार्वजनिक भएसँगै निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारमाथि दबाब बढेको छ । अन्यथा प्रेस स्वतन्त्रतामाथि दबाब सिर्जना गर्ने नियोजित प्रयास थियो कि भन्ने आशंका झन् बढ्न सक्छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध गर्ने कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु रहेको बताएको छ । राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन रहेको रास्वपाको ठहर छ ।





Facebook Comments