
काठमाडौं ।राजधानीका विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारले आफ्नो मानवअधिकार संरक्षण र सम्मानजनक पुनःस्थापनाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन्।
सुकुम्वासी परिवारको प्रतिनिधिमण्डलले मंगलबार आयोगका अध्यक्षतपबहादुर मगरलाई भेटेर मानवअधिकार संरक्षणसम्बन्धी अपिलपत्र बुझाएको हो। प्रतिनिधिमण्डलमा दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायत सहभागी थिए।

प्रतिनिधिमण्डलले होल्डिङ सेन्टरमा रहेका परिवारको वास्तविक अवस्था, राहत वितरणमा भएको विभेद, सम्मानजनक बसोबासको अभाव तथा संविधानले सुनिश्चित गरेको आवासको अधिकार कार्यान्वयन हुन नसकेको विषयमा आयोगको ध्यानाकर्षण गराएको जनाएको छ। साथै, प्रभावित क्षेत्रको तत्काल स्थलगत अनुगमन, सम्बन्धित निकायलाई आवश्यक निर्देशन तथा भूस्वामित्वसहितको स्थायी पुनःस्थापनाका लागि पहल गरिदिन आग्रह गरिएको छ।
अपिलपत्र बुझ्दै आयोगका अध्यक्ष मगरले पीडित परिवारको विषयमा आयोगले यसअघि पनि सरकारसमक्ष मानवअधिकार संरक्षणका लागि आवश्यक पहल गर्दै आएको उल्लेख गरेका थिए। प्राप्त अपिलपत्रका आधारमा थप अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र सिफारिस गरिने प्रतिबद्धता व्यक्त गरेको प्रतिनिधिमण्डलका संयोजकदल मर्दन कामीले जानकारी दिए।
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी परिवारले आफूहरू लामो समयदेखि अस्थायी बसोबासमा कष्टकर जीवन बिताउन बाध्य भएको भन्दै राज्यले संविधानअनुसार सुरक्षित आवास र सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग दोहोर्याएका छन्।





Facebook Comments