काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकबाट विभिन्न पाँच महत्त्वपूर्ण निर्णय गरेको छ। निर्णयहरूमा कृषि, विपद् व्यवस्थापन, खेलकुद, नेपाल वायुसेवा निगमको व्यवस्थापन तथा मिटरब्याज पीडितसँग सम्बन्धित विषय समेटिएका छन्।

मन्त्रिपरिषद्ले बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। यस संशोधनले बिउ बिजनसम्बन्धी कानुनी व्यवस्था थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ। सरकारले विपद्का बेला जोखिमपूर्ण जिम्मेवारी निर्वाह गर्ने सुरक्षाकर्मीलाई थप हौसला प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णयसमेत गरेको छ।

यस्तै, नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गर्दै महाप्रबन्धकको जिम्मेवारीसमेत रहने गरी कार्यकारी अध्यक्षको भूमिका दिइएको छ।

बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयअनुसार विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।