काठमाडौं, साउन १: काठमाडौंस्थित बंगलादेश दूतावासले बिहीबार ‘जुलाई शहीद दिवस–२०२६’ विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। सन् २०२४ को जुलाई जनआन्दोलन (जुलाई मास अपराइजिङ) का क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दिवस मनाइएको हो।

कार्यक्रमको सुरुआत पवित्र कुरआन पाठबाट भएको थियो। त्यसपछि बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्रीका सन्देश वाचन गरिएको थियो। कार्यक्रममा जुलाई आन्दोलनको पृष्ठभूमि र महत्व झल्काउने वृत्तचित्र प्रदर्शन गरिएको थियो भने शहीदहरूको आत्माको चिरशान्तिको कामना गर्दै विशेष प्रार्थना पनि गरिएको थियो।

दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालमा रहेका बंगलादेशी समुदाय, नेपाली विश्वविद्यालयमा अध्ययनरत बंगलादेशी विद्यार्थी, विभिन्न थिंक ट्यांक तथा अनुसन्धान संस्थाका प्रतिनिधि, विशिष्ट अतिथि र नेपाली युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले सन् २०२४ को जुलाई जनआन्दोलनको ऐतिहासिक महत्व स्मरण गर्दै आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले ३६ दिनसम्म चलेको आन्दोलनले निरंकुश शासनको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

राजदूत रहमानले विभेद, भ्रष्टाचार, जबर्जस्ती बेपत्ता पार्ने, हत्या, मताधिकारबाट वञ्चित गर्ने तथा दमनकारी शासनविरुद्ध जनआक्रोशका रूपमा जुलाई आन्दोलन भएको बताए। उनले विशेषगरी युवा र ‘जेन–जेड’ पुस्ताका विद्यार्थीहरूले आन्दोलनलाई सफल बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उनीहरूलाई परिवर्तनका प्रमुख संवाहकका रूपमा चित्रण गरे।

कार्यक्रममा नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) का अनुसन्धान निर्देशक डा. प्रमोद जैसवाल, ढाकास्थित ‘पोलिसी हाउस’का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. फोयसल खान तथा सार्क सचिवालयका निर्देशक तनवीर अहमद तरफदारले पनि आफ्नो धारणा राखेका थिए।

करिब ८० जनाको सहभागिता रहेको कार्यक्रममा अन्त्यमा सहभागीहरूलाई परम्परागत बंगलादेशी परिकारसहितको रात्रिभोजको व्यवस्था गरिएको थियो।