काठमाडौं ।सञ्चालनको अन्तिम तयारीमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि पहिलो पटक खुला गरिएको छ। सुरुङमार्गको औपचारिक उद्घाटनअघि सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले शनिबार बिहान‘नागढुंगा टनेल फन रन एण्ड वाक’कार्यक्रम आयोजना गर्दै नागरिकलाई सुरुङभित्र दौड र पदयात्रा गराएको हो।
कार्यक्रममा विभिन्न उमेर समूहका नागरिक, सरकारी अधिकारी, आयोजना निर्माणमा संलग्न प्राविधिक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले पैदल हिँड्दै र दौडिँदै सुरुङमार्गको अवलोकन गरेका थिए। नेपालको पहिलो सडक सुरुङमार्ग सञ्चालनमा आउनुअघि यसको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सडक विभागले जनाएको छ।
निर्माण सम्पन्न भएको करिब एक वर्षपछि सरकारले आगामीसाउन ११ गतेनागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ। उद्घाटनसँगै सुरुङमार्ग नियमित सवारी सञ्चालनका लागि खुला गरिने अपेक्षा गरिएको छ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ२ हजार ६ सय ८८ मिटरलामो रहेको छ भने आपत्कालीन उद्धार तथा सुरक्षाका लागि२ हजार ५ सय ५७ मिटरलामो छुट्टैरेस्क्यु टनेलनिर्माण गरिएको छ। कुनै दुर्घटना वा आपत्कालीन अवस्था उत्पन्न भए यात्रु तथा सवारीसाधनलाई सुरक्षित रूपमा बाहिर निकाल्न यही रेस्क्यु टनेल प्रयोग गरिनेछ।
सुरुङमार्गसँगै आयोजनाअन्तर्गत आधुनिक सडक पूर्वाधार पनि निर्माण गरिएको छ। यसमा फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपास गरीकुल १२ वटा सहायक संरचनानिर्माण भएका छन्। यी संरचनाले सुरुङमार्गमा सुरक्षित र सहज आवागमन सुनिश्चित गर्ने विश्वास गरिएको छ।
जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो आयोजना नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। सुरुङ सञ्चालनमा आएपछि काठमाडौं उपत्यका र धादिङ हुँदै पश्चिम नेपाल जोड्ने प्रमुख राजमार्गको यात्रा थप सहज, सुरक्षित र छोटो हुने अपेक्षा गरिएको छ। विशेषगरी नागढुंगा क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको सवारी जाम, घुमाउरा उकालो सडक र वर्षायाममा हुने जोखिममा उल्लेख्य कमी आउने विश्वास गरिएको छ।





Facebook Comments