आत्मादाह केवल एउटा जीवन समाप्त गर्ने निर्णय मात्र होइन; यो समाज र राज्यप्रति बाँकी रहेको अन्तिम भरोसा पनि ढलेको एउटा भयावह संकेत हो। पछिल्ला दिनमा सार्वजनिक स्थलमै शरीरमा आगो लगाएर भएका आत्मदाहका प्रयासहरूले सरकार, नागरिक समाज र सञ्चारमाध्यम सबैलाई एउटै कठोर प्रश्न सोधिरहेका छन्— के हामी हाम्रो नयाँ पुस्तालाई केवल निराशाको व्यापार गरिरहेका छौँ? आज सामाजिक सञ्जालको भित्ताभरि "३५ वर्षमा देशमा केही भएन", "देश सकियो", वा "नेपाल बस्न लायक छैन" भन्ने एउटा भाष्य निकै आक्रामक रूपमा फैलिएको छ।

गंगाबहादुर नेमकुल लेखक
गंगाबहादुर नेमकुल
लेखक

 

यो 'एकतर्फी भाष्य' सुन्दै हुर्किएको १४ देखि २८ वर्षको 'जेन्जी' (Gen Z) पुस्ताले टुकीबत्ती र अँध्यारो नेपाल भोगेको छैन। उनीहरूले आधारभूत अभाव, चरम लोडसेडिङ र सीमित अवसरका ती संघर्षपूर्ण दिनहरू देखेका छैनन्। त्यसैले, सामाजिक सञ्जालमा देखिने 'डिजिटल नैराश्य' नै उनीहरूका लागि निर्विकल्प सत्य बन्न पुगेको छ। यसको अर्थ देशमा समस्या छैन भन्ने पटक्कै होइन। बढ्दो महँगी, रोजगारीको अभाव, कमजोर स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको फितलो अवस्था जगजाहेर छ।

सरकारी संयन्त्रको ढिलासुस्ती र जनअपेक्षालाई सम्बोधन गर्न नसकेको यथार्थलाई ढाकछोप गर्न सकिँदैन। यी कमजोरीमाथि नागरिकको खबरदारी र सरकारको कठोर आत्मसमीक्षा अपरिहार्य छ। तर, आलोचनाका बीच अर्को महत्त्वपूर्ण पाटोलाई पनि नजरअन्दाज गर्न मिल्दैन। ३५ वर्षअघि करिब १६७ मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल आज ३,८०० मेगावाटभन्दा बढी उत्पादन गर्ने क्षमतामा पुगेको छ। हिजोको सडक सञ्जाल, सुरुङमार्गको सुरुवात, पेट्रोलियम पाइपलाइन, र डिजिटल बैंकिङमा हामीले मारेको फड्को नेपाली समाजको सामूहिक पौरख हो।

सूचना प्रविधि र सञ्चारको क्षेत्रमा भएको परिवर्तन त झन् चामत्कारिक छ। यी उपलब्धि कुनै एउटा दलको मात्र नभई समग्र राष्ट्रको विकास यात्राका माइलढुंगा हुन्। अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति दरिलो बन्दै गएको छ। नेपाली कूटनीतिज्ञ लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्षका रूपमा महत्वपूर्ण मन्त्रीस्तरीय घोषणा पारित गराउन सफल हुनु यसको पछिल्लो उदाहरण हो। यस्ता उपलब्धिले नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता र कूटनीतिक सामर्थ्यलाई प्रमाणित गर्छन्। समस्या तब बल्झिन्छ, जब समाजले केवल उपलब्धि मात्र गन्छ वा केवल असफलता मात्रै देख्छ।

यी दुवै अतिवाद घातक हुन्। केवल सफलताको गुनगानले जनताको वास्तविक पीडालाई उपेक्षा गर्छ भने केवल असफलताको प्रचारले समाजको सामूहिक आत्मविश्वास नै समाप्त पारिदिन्छ। निरन्तरको निराशाले युवा पुस्तालाई देशप्रति नै विरक्त बनाउँछ, जसको अन्तिम विन्दु आत्मविनाशसम्म पुग्न सक्छ। त्यसैले, अबको 'उपचार' अस्पतालको बेडमा मात्र खोजेर पुग्दैन। युवाहरूलाई सत्यको सम्पूर्ण चित्र देखाउनु आजको मुख्य आवश्यकता हो। सरकारका कमजोरीलाई औंल्याउनु जति आवश्यक छ, देशले हासिल गरेका उपलब्धि र सम्भावनाका तथ्यहरूलाई उजागर गर्नु पनि उत्तिकै जरुरी छ।

यो जिम्मेवारी राज्यको मात्र होइन; सञ्चारमाध्यम, बौद्धिक वर्ग र सचेत नागरिक समाजको पनि हो। आलोचना लोकतन्त्रको मुटु हो, तर आशा लोकतन्त्रको प्राण हो। यदि हामीले नयाँ पुस्तालाई केवल अन्धकारको कथा मात्रै सुनाइरह्यौं भने उनीहरूले उज्यालो भविष्य देख्ने छैनन्। तर, चुनौतीका बीच परिवर्तन र सम्भावनाको यथार्थ पनि देखायौं भने उनीहरू देश बदल्ने उर्जा बन्न सक्छन्। आत्मादाहको प्रयास गर्नेहरूलाई अब फरक उपचार चाहिएको छ। त्यो उपचार भनेको— सत्य र सन्तुलित सूचना, उत्तरदायी शासन, र भविष्यप्रतिको ठोस भरोसा हो। यही उपचारले मात्र निराशाको डढेलो निभाउन र जीवनप्रति अनुराग जगाउन सक्छ।