काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगलागी हुँदा गाडीभित्र रहेका एक पुरुषको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ११:२० बजे कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा पार्किङ गरिएको बा ५ च ३०३८ नम्बरको गाडीमा अचानक आगलागी भएको हो।

आगलागी नियन्त्रणमा लिएपछि गाडीभित्रबाट चालकको सिटमा रहेका एक पुरुषको शव फेला परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए। मृतकको पहिचान भने हालसम्म खुलेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार आगलागी भएको गाडी नविल बैंकको नाममा दर्ता रहेको खुलेको छ।

आगलागीको कारण र मृतकको पहिचान खुलाउने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।