काठमाडौं ।संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले निर्वाचन आयुक्त पदमा सिफारिस भएका दुई जनाको सुनुवाइ साउन १२ गते तथा प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको हो।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित उम्मेदवारहरूको सम्बन्धमा समितिमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको छ। ती दुवै सामग्री समिति सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराइने र त्यसपछि तोकिएको मितिमा सुनुवाइ प्रक्रिया अघि बढाइने उनले बताए।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।