काठमाडौँ । आन्तरिक गुटबन्दी र विभाजनको चेपुवामा परेको नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले दबाब अभियान सुरु गरेका छन्। २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिहरूले आगामी साउन १६ गते काठमाडौँमा 'राष्ट्रिय भेला' आयोजना गर्ने भएका हुन्।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी नभई चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि सञ्चालन गरेपछि कांग्रेसभित्रको मतभेद उत्कर्षमा पुगेको छ। पार्टी दुई ध्रुवमा विभाजित भई भिडन्तको स्थिति बनेपछि स्थानीय तहमा कांग्रेसको नेतृत्व गरिरहेका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरू पार्टी जोगाउन आफैँ अग्रसर भएका हुन्।

बिहीबार गोकर्ण रिसोर्टमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा बसेको नगर प्रमुखहरूको बैठकले यो राष्ट्रिय भेलाको औपचारिक निर्णय गरेको हो।

ढुंगाना र पाण्डेको नेतृत्वमा दबाब टोली

शीर्ष नेताहरूलाई भेटेर मिलेर अघि बढ्न कडा दबाब दिने उद्देश्यले गठित अभियानको संयोजकमा नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुखभीमप्रसाद ढुंगानार सहसंयोजकमा गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाकी अध्यक्षलक्ष्मी पाण्डेलाई तोकिएको छ।

नजिकिँदै गरेको स्थानीय तथा प्रदेश तहको निर्वाचन र पार्टीको महासंकटलाई ध्यानमा राखेर यो भेला बोलाइएको अभियानका संयोजक ढुंगानाले स्पष्ट पारेका छन्।

"जुन पार्टीको कार्यकर्ता भएर यहाँ पुगियो, त्यो पार्टी जोगाउनु हामी सबैको कर्तव्य हो। पार्टीलाई एकताबद्ध बनाउनका लागि नै हामीले देशभरका जनप्रतिनिधि काठमाडौँ बोलाएर दबाब दिन खोज्दैछौँ। यो भेला कुनै विशेष समूह वा गुटको नभई purely पार्टी जोगाउनका लागि मात्र हो," संयोजक ढुंगानाले भने।

अभियान अन्तर्गत शुक्रबारदेखि नै पार्टी सभापति गगन थापासहित पदाधिकारीहरू र चुनदेवी समूहका असन्तुष्ट नेताहरूलाई भेटेर पार्टी एकताका लागि निरन्तर छलफल र दबाब सिर्जना गरिने बताइएको छ। शीर्ष नेताहरूको गुटबन्दीले तल्लो तहका कार्यकर्ता र जनप्रतिनिधिको भविष्यमाथि नै प्रश्न उठाएका बेला जनप्रतिनिधिको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।