
काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ जिल्लाभित्र भएका मुख्य अपराध, त्यसको वर्तमान अवस्था र प्रहरीले गरेका कारबाहीबारे समग्र तथ्याङ्क सार्वजनिक गरेको छ।
परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार काठमाडौँमा वित्तीय अपराध, अनलाइन ठगी, गुण्डागर्दी र अनुचित लेनदेन (मिटरब्याज) का घटनाहरू प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
१५ करोड ३३ लाखभन्दा बढीको साइबर ठगी
काठमाडौँमा प्रविधिको दुरुपयोग गरी हुने विद्युतीय (साइबर) ठगी सबैभन्दा ठूलो जोखिमको क्षेत्रका रूपमा उभिएको प्रहरीले जनाएको छ। बितेको एक वर्ष (२०८२ साउनदेखि २०८३ असार मसान्तसम्म) मा काठमाडौँमा मात्रै २ हजार ३ सय २५ वटा साइबर ठगीका घटना दर्ता भएका छन्।
यी घटनाहरूको अनुसन्धानका क्रममा १५ करोड ३३ लाख ९४ हजार रुपैयाँ ठगी भएको पाइएको एसपी भट्टराईले जानकारी दिए।"वर्तमान समयमा साइबर अपराध सबैभन्दा ठूलो जोखिमको क्षेत्र बनेको छ,"एसपी भट्टराईले भने।
१८ सय ७१ गुण्डाको 'प्रोफाइल' र एआई क्यामेराबाट ५९ पक्राउ
काठमाडौँमा हुने अपराध तथा गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीले १८ सय ७१ जना संदिग्ध तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको तीन पुस्ते विवरणसहितको 'प्रोफाइल' तयार पारेको छ। कुनै अपराध भइहालेमा संदिग्धको तत्काल पहिचान र खोजी गरी कारबाहीको दायरामा ल्याउन पटके अभियुक्त र कसुरको प्रकृति अनुसार छुट्ट्याएर यो तथ्याङ्क तयार पारिएको हो।
यस्तै, आधुनिक प्रविधिको प्रयोग गर्दै प्रहरीले एआई (AI) क्यामेरामार्फत ५९ जना संदिग्ध व्यक्तिहरूलाई पहिचान गरी पक्राउ गर्न सफल भएको छ। यसका साथै नागरिकलाई दिइने प्रहरी सेवालाई बिचौलियामुक्त बनाउनेतर्फ पनि ठोस कदम चालिएको परिसरले जनाएको छ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी २८७ उजुरी
आर्थिक वर्ष २०८२/०८३ मा काठमाडौँमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी २ सय ८७ वटा उजुरी परेका छन्। गृह मन्त्रालयको परिपत्र अनुसार २०८० असारदेखि प्रहरीले यस्ता कसुरको अनुसन्धान गर्दै आएको छ।
परेका उजुरीमध्ये ४८ वटा मुद्दाको अनुसन्धान पुरा गरी अदालत पठाइएको छ भने ५० वटा मुद्दा मेलमिलापमार्फत फर्स्योट गरिएका छन्। बाँकी १ सय ८९ वटा उजुरी भने फर्स्योट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
अननैतिक कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ
नेपालमा गैरकानुनी तथा अनैतिक कार्यका लागि विदेशी महिलाहरूको आकर्षण बढेको प्रहरीको निष्कर्ष छ। बैङ्ककसहित विभिन्न अफ्रिकी मुलुकबाट आएर अनैतिक कार्यमा संलग्न भएका ५७ जना विदेशी महिलालाई आर्थिक वर्ष २०८२/०८३ मा पक्राउ गरिएको छ।
पक्राउ परेकामध्ये ४७ जनालाई कानुनी प्रक्रिया पुरा गरी अध्यागमन विभागमार्फत सम्बन्धित देशमा फिर्ता (डिपोट) गरिसकिएको र बाँकी १० जनाको डिपोटेसन प्रक्रिया जारी रहेको प्रहरी प्रवक्ता भट्टराईले जानकारी दिए।





Facebook Comments