काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन र सत्ता साझेदारीका विषयमा तीन बुँदे सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिअनुसार दुवै दलले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन्। प्रदेश सरकारको नेतृत्व बाँडफाँट पनि टुंग्याइएको छ। जसअनुसारकोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भनेकर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ।

यस्तै,मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ।

सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाजस्ता समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुवै दलबीच सहकार्य गर्ने उल्लेख गरिएको छ।

हस्ताक्षर कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन पनि उपस्थित थिए। एमाले र नेकपाले प्रदेश सरकारलाई प्रभावकारी बनाउँदै विकास निर्माणका कामलाई गति दिन सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।