
काठमाडौं, साउन ११ (जुलाई २६):नेपालस्थित बंगलादेश दूतावासले आइतबार काठमाडौंको उत्सव कुञ्जमा"बंगलादेश म्याङ्गो डेलिकेसी"नामक आँप महोत्सव आयोजना गर्दै बंगलादेशका विभिन्न जातका ढिलो पाक्ने आँप तथा आँपबाट बनेका परिकारहरूको प्रदर्शनी गरेको छ।
महोत्सवको उद्घाटन सार्क सचिवालयका महासचिव राजदूत मोहम्मद गोलाम सरवारले अतिथि विशेषका रूपमा गरेका थिए। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखाका सहसचिव तथा राजदूत गहेन्द्र राजभण्डारी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, व्यवसायी, आयातकर्ता, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका करिब २५० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बंगलादेशमा आँप केवल फल मात्र नभई संस्कृति, परम्परा, सम्पदा र कृषि जीवनको अभिन्न अंग भएको बताए। उनले बंगलादेशका उर्वर भूभाग र अनुकूल हावापानीका कारण विश्वकै उत्कृष्ट आँप उत्पादन हुने उल्लेख गर्दै खिर्सापात (हिमसागर), हरिभाङ्गा, लंग्रा, फजली, गोपालभोग, आम्रपाली, आश्विना, बनाना म्याङ्गो, काटिमोन, गौरमती तथा बारी जातका आँपहरू मिठास, सुगन्ध, गुणस्तर र पोषणका दृष्टिले अन्तर्राष्ट्रिय रूपमा परिचित रहेको बताए।

राजदूत रहमानले बंगलादेशका वैज्ञानिकहरूले ढिलो पाक्ने बारी जातका आँप तथा अन्य उन्नत प्रजातिको विकासमा उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै आँप प्रशोधन उद्योगले जुस, नेक्टर, पल्प, अचार, चट्नी, जाम, ड्राइ म्याङ्गो, क्यान्डी, फ्रुट बारलगायत उच्च गुणस्तरीय उत्पादन विश्व बजारमा पुर्याइरहेको जानकारी दिए।
सार्क महासचिव मोहम्मद गोलाम सरवारले दक्षिण एशियामा उत्कृष्ट गुणस्तरका आँप उत्पादन हुने सम्भावना हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात अपेक्षाकृत न्यून रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा क्षेत्रीय सहकार्य बढाउनुपर्नेमा जोड दिए। उनले यस्ता कार्यक्रमले सदस्य राष्ट्रबीच व्यापार र कृषि सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
विशेष अतिथि राजदूत गहेन्द्र राजभण्डारीले महोत्सवले बंगलादेशको आतिथ्यता र सांस्कृतिक समृद्धिलाई प्रस्तुत गर्नुका साथै नेपाल–बंगलादेशबीच जनस्तरको सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले 'म्याङ्गो डिप्लोमेसी' जस्ता सिर्जनात्मक पहलले दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने धारणा राखे।
महोत्सवमा राजशाही क्षेत्रका फजली, आम्रपाली, बारी–४, काटिमोन, गौरमती र आश्विना लगायतका ढिलो पाक्ने आँप प्रदर्शन गरिएका थिए। साथै आँपबाट बनेका जुस, अचार, ड्राइ म्याङ्गो, चट्नी, जाम, जेली, फ्रुट बारलगायतका प्रशोधित उत्पादन तथा म्याङ्गो केक, म्याङ्गो स्टिकी राइस, म्याङ्गो पुडिङजस्ता परिकार पनि अतिथिलाई स्वाद गराइएको थियो।
कार्यक्रममा बंगलादेशका आँप किसान रोफिकुल इस्लामले राम्रो कृषि अभ्यास (Good Agricultural Practices–GAP) अनुरूप आँप खेती गर्ने विधि तथा आफ्नो १५ वर्षको अनुभव प्रस्तुत गरेका थिए। कार्यक्रममा बंगलादेशको आँप खेती, पर्यटन तथा सांस्कृतिक सम्पदाबारे वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।
दूतावासका अनुसार महोत्सवको उद्देश्य नेपाली उपभोक्तामाझ बंगलादेशी आँपको गुणस्तर र विविधताको परिचय गराउनुका साथै नेपाल र बंगलादेशबीच कृषि तथा प्रशोधित खाद्य सामग्रीको व्यापार विस्तारका लागि व्यवसायिक साझेदारी प्रवर्द्धन गर्नु हो। दूतावासले यस्ता कार्यक्रमले दुई देशबीचको व्यापार, लगानी, सांस्कृतिक आदान–प्रदान र दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।





Facebook Comments